- नमोबुद्ध संवाददाता
पाँचखाल,काभ्रे,२६ माघ :
अवैध रुपमा भईरहेको वालुवा चोरी निकासी रोक्न पाँचखाल नगरपालिका १३ कोशीदेखाका स्थानियले उठाएको मागप्रति नगरप्रमुख महेश खरेल गम्भीर नभएको आरोप लागेको छ । विगत १ महिनादेखि वालुवा चोरी निकासी भईरहेकोप्रति पटक पटक वडा सचिव,स्थानिय प्रहरी चौकी र जिल्ला प्रशासनलाई जानकारी गराउदा पनि वास्ता नगरेपछि स्थानियले शुक्रबार नगरपालिकाको कार्यालयमा समेत तालाबन्दी गरे ।
‘तालाबन्दी गरेको घण्टौंपछि मात्रै नगर कार्यालयमा देखा परेका मेयर खरेलले वार्तामा बस्न बोलाएपछि तोला खोलियो तर म बुझ्छु भन्दै थामथुम पार्न खोज्नुभयो’–छलफलमा सहभागि एकले नमोवुद्ध खबरलाई भने–‘हामी लिखीत सहमति चहान्छौं ताकि वालुवा चोरी निकासी आजैबाट बन्द होस् ।’ सार्वजनिक प्राकृतिक स्रोतको दोहन गर्न वालुवा तस्करहरुसँग पाँचखाल नगरपालिकाको साँठगाँठ रहेकोले मेयर अझै गम्भीर नदेखिएको स्थानियको भनाई छ । स्थानियको भनाईलाई पुष्टि गर्ने आधारहरु पनि भेटिएका छन् । स्रोतले नमोवुद्ध खबरलाई भन्यो–‘वालुवा निकासीमा नक्कली रसिदको प्रयोग भएको छ, यसमा प्रशासन र केहि जनप्रतिनिधिहरुको साँठगाँठ छ ।’
वडा नम्बर १३ को वरबोट, सेराबेसी र तिमालबेसी लगायतका स्थानबाट अवैध रुपमा रातारात बालुवा चोरी गर्ने क्रम नरोकिएको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नुपरेको स्थानीय प्रकास ब्लोनले बताउनुभयो । मेयर र जिल्ला प्रहरीको निर्देशनमा तालाबन्दीमा सहभागीहरुलाई स्थानीय प्रहरीले लछारपछार गरेका थिए ।
स्रोतले नमोवुद्ध खबरलाई भन्यो–‘वालुवा निकासीमा नक्कली रसिदको प्रयोग भएको छ, यसमा प्रशासन र केहि जनप्रतिनिधिहरुको साँठगाँठ छ ।’
ताला खुलाएपछि वार्तामा सहभागि ब्लोनले भन्नुभयो–‘स्थानिय शान्तिपुर्ण रुपमा आन्दोलनमा आउँदा प्रहरी प्रशासनले हस्तक्षेप गर्न खोज्नु,वार्तामा बोलाएर छलफल निचोडमा नपुग्दै मेयर उठेर जानु,यो ठिक भएन,मेयर हाम्रो प्रतिनिधि हो,सुनुवाई हुनुपर्यो ।’
उहाँले स्थानिय प्रशासनले छिटोभन्दा छिटो बालुवाको अवैध चोरीनिकासी नरोके आफुहरु थप शसक्त आन्दोलनमा उत्रिने चेतावनी पनि दिनुभयो ।