-
नमोबुद्ध संवाददाता
बनेपा, काभ्रे ६ पुस : क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले तीन नम्बर प्रदेशको स्थायी राजधानी काभ्रेनै बनाउनुपर्ने बताउनुभएको छ । दुई छिमेकी मुलुकसंगको सडक सञ्जालसंग जोडिएको र प्रदेशका सबै जनतालाई पायक पर्ने केन्द्रभाग काभ्रेनै पर्ने भएकोले यसलाई कसैले नकार्न नसक्ने उहाँको भनाई छ ।
शनिबार बनेपामा संयुक्त बाम गठबन्धनले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘अहिले काँग्रेसले कुन स्वार्थले हेटौंडा लग्यो थाहा छैन वास्तवमा भोली हुने स्थायी राजधानी काभ्रेनै हो ।’
विभिन्न आधारहरु अघि सार्दै काभ्रेली जनतासामु भोट माग्नेक्रममा आफुहरुले प्रदेशको राजधानी काभ्रे बनाउने वचन दिएको उल्लेख गर्दै उहाँले अव जनताबाट निर्वाचित प्रतिनिधिहरु भाग्न नसकिने बताउनुभयो ।
सांसद बाँस्कोटाले प्रदेशको राजधानी भक्तपुरलाई बनाउने कसरतमा ति क्षेत्रका सांसद महेश बस्नेतसंग पनि अनौपचारिक छलफल भईरहेको जानकारी दिनुभयो । अहिले अस्थायी राजधानी हटौंडा बनाएकोमा भक्तपुरमा आन्दोलन भएपनि अन्ततगत्व स्थायी राजधानी काभ्रेलाई बनाउन बस्नेतसंगको छलफल सकारात्मक रुपमा अघि बढेको उहाँले बताउनुभयो । उहाँको स्पष्टोक्ती छ –‘भौतिक संरचना अनुसार प्राथमिकता दिदा भक्तपुर,हेटौंडापछि काभ्रे तेस्रो नम्बरमै रहेपनि प्रदेशकै हितका लागिचाँहि काभ्रे पहिलो नम्बरको प्राथमिकतामा पर्छ ।’
त्यस्तै कार्यक्रममा प्रदेशसभाका लागि काभ्रेबाट निर्वाचित सांसद चन्द्र लामाले जनताको म्याण्डेटबाट पछि नहट्ने बताउनुभयो । त्यस्तै अर्का प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले काँग्रेसको काम चलाउ सरकारले अहिले प्रदेशको अस्थायी राजधानी हेटौंडा बनायो भन्दैमा सडकमा नारा जुलुस गर्न आवश्यक नरहेको बताउनुभयो । जनताको मागको सम्बोधनका लागि आफुहरुको फोरम सदन रहने जनाउदै उहाँले प्रदेशसभाको दुई तिहाई वहुमतबाट तीन नम्बर प्रदेशको राजधानी काभ्रे बनाउने निर्णय गर्न आफुहरुको पहलकदमी रहने आश्वासन दिनुभयो । अनौपचारिक रुपमा चितवन र मकवानपुरकै प्रदेशसभा सदस्यहरु पनि यसमा सहमत रहेको उहाँको दावी छ । साथै अर्का प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईले पनि तीन नम्बर प्रदेशको राजधानी काभ्रेनै हुनेमा निश्चिन्त रहन काभ्रेवासीलाई अनुरोध गर्नुभयो ।