• नमोबुद्ध संवाददाता

धुलिखेल,काभ्रे,२८ पुस : पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले जनताको सेवा गर्न तल्लिन जनप्रतिनिधिलाई सरकारले स्पष्ट नीति बनाई काम गर्न सहज वातावरण बनाउनुपर्ने बताउनुभएको छ । स्थानिय निकाय पुनःसंरचना गर्नुपुर्वका नीति तथा कार्यविधिले काम नगर्ने भएपछि स्पष्ट नीति तथा निर्देशिका आवश्यक रहेको उहाँको भनाई छ । सरकारी अधिकारीको मौखिक निर्देशनको भरमा परिषद गरी विकास निर्माणका कामहरु गर्नुपर्दा जनस्तरबाट विभिन्न प्रश्नहरु आउने गरेको भन्दै यसतर्फ उहाँले सरकारको ध्यानाकर्षन गराउनुभएको हो ।

रेडियो नमोवुद्धको विहानी बहस“नमोवुद्ध डबली”सँग शुक्रबार उहाँले भन्नुभयो“अन्ततगत्व सरकारले हामीलाई झुक्यायो ।” सरकारबाट छिट्टै नीति बनाउने आश्वासन पाएपनि स्पष्ट नीति तथा कार्यविधिमा ढिलाई हुदा पनौती नगपालिका लागि आएको ३६ करोड ७३ लाखको बजेट कार्यन्वयनमा असहजता आएको उहाँको भनाई छ । स्थानिय आदिवासी जनजाती,महिला,दलित,जेष्ठ नागरिक,अपांग जस्ता लक्षित वर्गलाई सम्बोधन गर्ने बारेमा पनि स्पष्ट बजेट सिलिङ नआएकोले जनस्तरबाट विभिन्न गुनासाहरु आउने गरेको उहाँले बताउनुभयो ।

स्थानिय क्षेत्रमा सडक,सिञ्चाई तथा खानेपानी जस्ता जनताको आवश्यकताको आधारमा ति पुर्वाधारमा बजेट लगाउन संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका अधिकारीले मौखिक परिपत्र दिएकै आधारमा अघि बढ्दा केहि गुनासाहरु आएको उहाँको तर्क छ । स्वास्थ्य,कृषि जस्ता महत्वपुर्ण अन्य क्षेत्रका लागि सरकारका विषयगत मन्त्रालयबाट बजेट आउने आश्वासन दिएपछि आफुहरुले त्यसमा बजेट नछुटाएको तर मन्त्रालयबाट पनि बजेट नपठाई सरकारले झुक्याएको उहाँले स्पष्ट पार्नुभयो ।

यसअघि जिल्लाबाट खटिएका कर्मचारी पनि नगरपालिका मातहत रहने र उनिहरुलाई पनि नगरपालिकाबाटनै तलव खुवाउन भनेकोमा यसको व्यवस्थापन समेत सहज नभएको उहाँले बताउनुभयो । नगरपालिकामा खटिने ति सबै कर्मचारीको तलवका लागि यो पटक ६ करोड आवश्यक पर्नेमा ३ करोडमात्रै प्राप्त भएको मेयर न्यौपानेले जानकारी दिनुभयो ।

यद्यपी प्रदेश र संघको निर्वाचन सम्पन्न भएकोले अबचाँहि काम गर्न सजिलो हुने बिश्वास मेयर न्यौपानेको छ । सरकारको रायको आधारमा स्थानिय आवश्यकतालाई मध्यनजर गर्दै आफूहरु पनि नीति नियम बनाई अघि बढ्ने तयारीमा रहेको उहाँको भनाई छ । उहाँले विविध समस्याकै बिच पनि पनौती नगरपालिकाले जनताको विकास निर्माणलाई अघि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो –“अहिले मपदण्डबाट कमजोर रहेका सडकको स्तर उन्नती,सिञ्चाई,खानेपानी तथा शिक्षा क्षेत्रलाई प्राथमिकता दिई काम गरिरहेका छौं ।” उहाँले असारमा भएको नगर परिषदले पास गरेका विकास निर्माणका योजना सम्झौता सकि अब कार्यन्वयनको चरणमा रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !