• नमोबुद्ध संवाददाता

धुलिखेल, काभ्रे २५ पुस ः प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ काभ्रेबाट निर्वाचित गंगाबहादुर दोङ (बमध्वज)ले जनतालाई सेवा सुविधा प्रवाह गर्न सहज हुनेगरी प्रदेशको राजधानी तोक्ने विषयलाई बाम गठबन्धनले ख्यालख्यालको कुरा नठानेको बताउनुभएको छ । यस्तो विषयमा देउवा नेतृत्वको काम चलाउ सरकारले अपरिपक्कता देखाउन खोजेकोमा त्यसमा आफुहरुले निरन्तर खबरदारी गरिरहेको उहाँले बताउनुभयो । उहाँले सरकारले मनोमानी ढंगले केहि स्वार्थी व्यक्तिहरुको आडमा आफुखुसी प्रदेशको राजधानी तोक्ने तयारी गरेकोमा जनता सडकमा उत्रिन थालेपछि पछि हटेको दाबी गर्नुभयो ।

रेडियो नमोवुद्धको विहानी वहस “नमोवुद्ध डवली”सँग मंगलबार उहाँले भन्नुभयो–“यो भोलीका पुस्तालाइृ असर पर्ने विषय हो,ख्याल ख्यालको कुरा हैन ।” भावी पुस्ताले नसराप्नेगरी बाम गठबन्धन अघि बढ्ने उहाँको जीकिर छ । काभ्रेलाई प्रदेश तीनको राजधानी बनाउँदा जनतालाई सहज हुने उल्लेख गर्दै उहाँले भन्नुभयो–“काभ्रे पुर्वको ढोका हो,प्रदेश तीनका अधिकांश जिल्लाको विकास अघि बढाउन निकै सहज हुन्छ,त्यसैले काभ्रेलाई राजधानी बनाउन पहलकदमी लिइरहेकै छौं ।”

उहाँले काभ्रेलाई राजधानी बनाउन सकिने १३ वटै जिल्लाको सहज सम्पर्क हुने भौगोलिक अवस्थीति,आबश्यक पुर्वाधारको उपलब्धता,दुई छिमेकी मुलुकसंगको सडक सञ्जाल जस्ता मुख्य र महत्वपुर्ण आधार प्रश्तुत गर्नुभयो । “बाम गठबन्धनभित्र औपचारीक छलफल भईसकेको छ ,सिन्धु,रामेछाप,दोलखाका साथीहरुसँग पनि सकारात्मक ढंगले छलफल भईरहेको छ,अब जनस्तरबाट पनि दबावमुलक अभियान चलाउने टुंगोमा पुगेका छौं ।”–उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !