• नमोबुद्ध संवाददाता

धुलिखेल, काभ्रे,२४ पुस : प्रदेश तीनका सदस्य चन्द्र लामाले अहिलेको ताजा जनादेशलाई कुल्चेर काम चलाउ सरकारले केहि निर्णय गर्न नसक्ने बताउनुभएको छ । उहाँले जनताबाट हारिसकेको काँग्रेस अनेक बखेडा निकालेर सत्ता लम्ब्याउने खेलमा लाग्दा त्यसको मार जनतामा पर्ने भन्दै त्यसतर्फ आफुहरु सचेत रहेको बताउनुभयो । रेडियो नमोवुद्धको विहानी वहस“नमोवुद्ध डबली”संग सोमबार उहाँले भन्नुभयो–“ताजा जनादेश हामीसंग छ,प्रदेशको राजधानी तोक्ने अधिकार हाम्रो हो ।”

“ताजा जनादेश हामीसंग छ,प्रदेशको राजधानी तोक्ने अधिकार हाम्रो हो ।”

संघियताको मुल मर्मलाई सम्मान गर्न प्रदेश सरकारको काम कारवाही काठमाण्डौं उपत्यका बाहिरबाटै थाल्नुपर्ने उहाँको तर्क छ । यसका लागि जनतालाई पायक पर्ने ठाउँहरुबाट प्रशासनिक सेवा दिन जरुरी रहेको उहाँले बताउनुभयो । जनतालाई अधिकार सम्पन्न गराउन स्थानिय सरकारलाई बलियो बनाउनुपर्ने र त्यसका लागि प्रदेशको राजधानी बुद्धिमत्तापुर्ण तरिकाले तोकिनुपर्ने सांसद लामाको भनाई छ ।

प्रदेशसभामार्फत राजधानी तोक्ने लगायतका सवालमा निर्णायक भुमिका खेल्ने काममा आफु कत्तिपनि पछि नहट्ने उहाँको प्रतिवद्धता छ । उहाँको स्पोष्टी छ –“प्रदेश तीनभित्रका साथीहरुसंग छलफल भईनै रहेको छ, १२ वटै जिल्लाको केन्द्रमा पर्ने काभ्रेमा प्रदेशको राजधानी बनाउन बैज्ञानिक,व्यवहारिक हरेक दृष्टिले योग्य छ ।”

सांसद लामाले ताजा जनादेश प्राप्त भएको ७ दिनभित्र नयाँ सरकार गठन गरी त्यसले ठोस निर्णय गर्न पाउनुपर्ने अधिकारबाटै कुण्ठित गराउने षड्यान्त्र भईरहेको आरोप लगाउदै त्यस्ता प्रपञ्चलाई परास्त गरेरै छाड्ने दावी पनि गर्नुभयो । उहाँले भन्नुभयो–“पहिलो त यो देउवा सरकार जनताबाट पराजित भईसक्यो, अर्को हिसावले तत्काल हामीले चालेको रणनीतिक दवाबले गर्दा आफुखुसी प्रदेशको राजधानी तोक्ने तयारीबाट पछि हटेको छ ।”

प्रतिक्रिया दिनुहोस !