
-
नमोबुद्ध संवाददाता
धुलिखेल, काभ्रे, २१ पुस : नेपाली काँग्रेस काभ्रेले प्रदेश तीनको राजधानी काभ्रे बनाउने सवालमा जिल्लाका सबै दल एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिएको छ । हिजो एक नम्बरको पार्टी हुदा र आज पराजित भएर सानो आकारमा खुम्चिएपनि काँग्रेस काभ्रेले सबै दलहरुसंग यसलाई साझा मुद्धाको रुपमा अगाडी सारेको काँग्रेस काभ्रे जिल्ला समितिले बताएको छ । व्यवहारिक,बैज्ञानिक र प्रशासनिक सुगम्ताले पनि काभ्रे प्रदेशको राजधानी बनाउन उपयुक्त हुने काभ्रे काँग्रेसको ठहर छ । सरकारले बनाएका मपदण्डको आधारमा पनि काभ्रे पछि पर्न नसक्ने भन्दै काँग्रेसले आवश्यक दवाव अभियानमा जुट्न आह्वान पनि गरेको छ ।
रेडियो नमोवुद्धको विहानी वहस “नमोवुद्ध डबली” सँग काँग्रेस सभापति मधु आचार्यले भन्नुभयो–“हामीसँग अहिले ८ वटा जिल्लाको सिधा एक्सेस् छ, सडक सञ्जालको पहुँच,भौगोलिक अवस्थीतिले पनि कसैले विरोध गर्ने ठाउँ नै छैन ।”
काठमाण्डौं उपत्यकामै प्रदेशको राजधानी बसाए मुलुक संघियतामा गएपनि जनताले प्रशासनिक विकेन्द्रीकरणको प्रत्याभुती नपाउने उहाँको तर्क छ । उहाँको जिकिर छ –“उसोभए संघियताको अर्थ के ?,जनतालाई सहज हुनुपर्यो, काठमाण्डौं त देशभरको केन्द्रीय राजधानी हो,धँवा,धुलोले त्यहाँकै जनता उकुसमुकुसको अवस्थामा छन् , त्यहाँ प्रदेशको राजधानीको कुरा सुहाउदैन ।”
काभ्रे प्रदेशको राजधानी हुदा अन्य जिल्लाले पनि अपनत्व महसुस गर्नेमा दुई मत नरहेको उहाँको भनाई छ । यसमा यहाँ उपलब्ध स्रोतसाधन र आफु आत्मनिर्भर भई अरु जिल्लावासीलाई समेत आपुर्ति गराउन सक्ने विभिन्न उपजको उत्पादन तथा उपलब्धताको पाटो पनि गतिलो आधार बन्न सक्ने उहाँको तर्क छ ।
काभ्रेलीलाई ठुलो फाईदा पुग्ने,१३ वटै जिल्लालाई सहज हुने,दुरगामी असर हुने निर्णयको मोडमा आईपुगेकोले अब काभ्रेका दलहरुले यसमा परिपक्कता देखाउनुपर्ने सभापति आचार्यले बताउनुभयो । सचेत गराउदै उहाँले भन्नुभयो–“हामी यस्तो अवसरबाट चुक्यौं भने ठुलो एतिहासिक भुल हुन्छ ।”
यसबारे सरकारले निर्णय गरिनसकेकोले नआत्तिन तर चुप लागेर नबस्न पनि उहाँले काभ्रेवासीलाई आग्रह गर्नुभयो । “शनिबार हामी काभ्रेका सबै दल,नागरिक समाज,सर्वसाधारण बनेपा चार दोवाटोबाट दवाव अभियानमा उत्रिदैछौं ।” उहाँले जानकारी दिनुभयो ।