• नमोबुद्ध संवाददाता

बनेपा, काभ्रे,२० पुस : नेकपा एमाले काभ्रेले तीन नम्बर प्रदेशको राजधानी काभ्रेनै बनाउन नेतृत्व गर्ने बताएको छ । भौगोलिक दृष्टिले यो जिल्ला प्रदेश नम्बर ३ का सबै १३ वटै जिल्लाको केन्द्रमा पर्ने र आवश्यक पुर्वाधार पनि भएकोले मुलुक संघियतामा गएदेखीनै एमालेले यसको पहल गर्दै आएको दाबी एमाले जिल्ला कमिटि काभ्रेको छ ।

विहिबार बनेपामा आयोजित पत्रकार सम्मेलनमा एमाले काभ्रेका अध्यक्ष टोक वहादुर वाईवाले भन्नुभयो –‘हाम्रो जिल्लालाई राजधानी बनाउने आधार हामीसंग प्रशस्तै छन् तर काँग्रेस नेतृत्वको सरकार एकलौटी ढंगले अगाडी बढ्न खोजेको भान भईरहेको छ,त्यो मान्य हुन्न ।’

तत्काल अहिले कामचलाउ सरकारले आफ्नै ढंगले प्रदेशका अस्थायी राजधानीहरु तोक्ने तयारी भईरहेको सन्दर्भमा उहाँको भनाई छ–‘हामीले निरन्तर दवाव दिईरहेका छौं, सरकारको त्यस्तो रवैयाप्रति चौतर्फी विरोध आएपछि बल्ल उसले सर्वदलिय बैठक डाकेको छ,कुनै पनि हालतमा तीन नम्बर प्रदेशको राजधानी काभ्रेनै बनाउन त्यसको अगवाई एमालेले गर्छ ।’

काभ्रेलाई प्रदेश नम्बर तीनको राजधानी बनाउन सकिएमा जिल्लामा जलविद्युत, पर्यटन, उद्योग कलकारखानाको क्षेत्रमा थप विकास आई जिल्लाले सवृद्धिको पाटोमा फड्को मार्न सकिने जिल्लावासीको विश्वास छ ।

केशव बडालको संयोजकत्वमा एमाले काभ्रेले समिति बनाई, त्यो समितिको प्रतिवेदनले ललितपुर वा भक्तपुरलाई प्रदेशको राजधानी बनाउन सुझाएको भन्ने खालको अफवाह काभ्रे काँग्रेसले फैलाउन खोजेको भन्दै अध्यक्ष वाईवाले त्यस्तो गलत दुश्प्रचारको पछाडी नलाग्न काभ्रेवासीलाई अनुरोध गर्नुभयो । उहाँको स्पटोक्ती छ –‘त्यस्तो भ्रममा नपर्नु,एमाले जिल्ला कमिट काभ्रे, जिल्लाका सबै पार्टीलाई एकसाथ लिएर काभ्रेलाई राजधानी बनाउने दवाव अभियानमा लागिराखेको छ ।’

काठमाण्डौं केन्द्रको राजधानी भईकन पनि अव्यवस्थित वस्ती र प्रदुषणले सकसमा परेको बेला सरकारले काठमाण्डौं उपत्यकाकै ठिमीलाई प्रदेशको अस्थायी राजधानी बनाउने तयारी गरिरहेको भन्ने गाँईगुई बाहिर आएकोमा त्यसतर्फ आफुहरुको पनि ध्यानआकृष्ट भएको अध्यक्ष वाईवाले बताउनुभयो ।
काभ्रे जिल्ला तरकारी,दुग्ध,पोल्ट्री लगायतका क्षेत्रमा आफु आत्मनिर्भर भई काठमाण्डौंसंगै अन्य जिल्लामा समेत आफ्ना उत्पादन निर्यात गर्न पनि सक्षम रहनु,मन्त्रालय तथा प्रशासनिक कार्यालय राख्ने भवनहरु हुनु,छिमेकी दुई मुलुक जोड्ने पक्की राजमार्ग रहनु जस्ता आधारलाई कसैले नकार्न नसकिने उहाँको भनाई छ ।

काभ्रेलाई प्रदेश नम्बर तीनको राजधानी बनाउन सकिएमा जिल्लामा जलविद्युत, पर्यटन, उद्योग कलकारखानाको क्षेत्रमा थप विकास आई जिल्लाले सवृद्धिको पाटोमा फड्को मार्न सकिने जिल्लावासीको विश्वास छ । प्राकृतिक छटाले भरिपुर्ण महाभारत श्रीखंला, तामाङ समुदायको साँस्कृतिक सभ्यताले परिचित तेमाल,भोटेकोसी, ईन्द्रावती र सुनकोशीको जलपर्यटन,जडिवुटी जस्ता क्षेत्रले स्थान पाउनेमा पनि काभ्रेली आशावादी छन् ।
जिल्लावासीको यिनै भावनाको सम्मान हुने र समग्र प्रदेशको विकासका लागि सहज वातावरणमा प्रशासन सञ्चालन गर्न प्रदेश नम्बर तीनको राजधानी काभ्रे उपयुक्त हुने एमाले काभ्रेको तर्क छ ।

प्रतिक्रिया दिनुहोस !