• नमोबुद्ध संवाददाता

काठमाडौं, १८ पुस ः नेपाल तामाङ घेदुङले यस वर्ष फागुन ४ गतेबाटनै तामाङहरुको ल्हो(वर्ष) फेरिने भन्दै त्यही दिनलाई लक्षित गरी ल्होछार मनाउन अपिल गरेको छ । घेदुङले आज आफ्नो कार्यालय पुतलीसडक काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विक्रम संवतको पात्रोमा माघ ४ गते सोनाम ल्होछार भनि उल्लेख भएकोमा त्यो भ्रममा नपर्न आग्रह गरेको हो ।

घेदुङका अध्यक्ष मोहन गोलेले चन्द्र पात्रोअनुसार प्राय वर्ष माघमा तामाङ समुदायमा स्थापित परम्पराअनुसार ल्हो फेरिने भएपनि यो पटक मलमास परेकोले ल्हो फिर्ने ख्रेला छेपाःगी (प्रतिपदा) फागुन ४ गते पर्न गएको दावी गर्नुभयो । पत्रकारमाझ उपस्थित लामा खेन्पो सोनाम ग्युर्मेले पनि तामाङ जातिको उद्गम,सभ्यता,साँस्कृतिक अस्तीत्व र पहिचानलाई प्रतिविम्वित गर्ने ल्हो परम्पराअन्र्तगत मनाईने पर्व ल्होछारबारे भ्रममा पर्न नहुने बताउनुभयो ।
यसअघिका केहि वर्षहरुमा पनि मलमास परेकै कारण फागुनमा ल्होछार मनाएको स्मरण गराउदै घेदुङका पुर्व सचिव प्रतिक ङेसुरले यसलाई विवादको विषय बनाउन नहुने बताउनुभयो ।

साथै प्रेस विज्ञप्ती जारी गर्दै घेदुङले नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई यो कमजोरीलाई अविलम्ब सच्याउन साथै माघ ४ को सोनाम ल्होछार बिदालाई हटाई फागुन ४ गते कायम गर्न सरकारलाई माग पनि गरेको छ ।

घेदुङले फागुन ३ गतेदेखी ५ गतेसम्म तामाङ पहिरनमा ल्होछार इभ,घरमा बत्ति बाल्ने,पूजाआजा गर्ने,लुङ्दर दज्र्यु फेर्ने,ईष्टमित्र भेटघाट गर्ने,कोम्हेन्दो तथा नौनी घिउको टिका लगाउने,आर्शिवाद लिनेदिने,तामाङ खानपिन गर्ने जस्ता कार्यक्रम गरी घरघरमा ल्होछार मनाउन आग्रह समेत गरेको छ ।
घेदुङले यो पाली पनि फागुन ३,४ र ५ गते काठमाण्डौंमा ‘सोनाम ल्होछारको प्रवद्र्धन,हाम्रो साँस्कृतिक अभियान ! ताम्सालिङ प्रदेशको स्थापना,राष्ट्रको साझा पहिचान !!’ भन्ने नाराका साथ सोनाम ल्होछार समारोहको आयोजना गर्न १ स २० वटा संस्थाहरु सम्मिलित १ हजार १ सदस्यीय समिति गठन गरिसकेको जानकारी पनि दिएको छ ।

तीन नम्बर प्रदेशलाई राष्ट्रिय साझा पहिचानको आधारमा ताम्सालिङ प्रदेश नामाकरण र तामाङ भाषालाई प्रादेशिक भाषा कायम गराउन सोनाम ल्होछार २८५४ ले अझ आवाज बुलन्द गर्ने विश्वास लिएको पनि विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !