• नमोबुद्ध संवाददाता

धुलिखेल, काभ्रे, ०८ पुस, काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गोकुल बाँस्कोटाले संवृद्ध काभ्रे बनाउने अभियानमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ । उहाँले विकास निर्माणको सवालमा आफु हिजोदेखी काभ्रेली जनताको साथमा रहेको उल्लेख गर्दै संवृद्ध काभ्रेका लागि दिगो विकासको पक्षमा उभिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल झिना मसिना विकासका काममा रुमल्लिरहेको अबस्थामा उहाँले भन्नुभयो–‘अब समयलाई बुझ्नुपरयो,युगको गति पकड्नुपरयो ।’ सानातिना कुलो चौतारो,बाटो घाटो,पिउनेपानी,सडक जनताको आधारभुत आवश्यकता रहेपनि अब त्यो भन्दा माथि जान सक्नुपर्ने उहाँको तर्क छ । यदि काम चलाउ अवस्थामै अल्झिरहेमा मुलुक अल्पविकसितको सुचिमै रहिरहने उहाँको भनाई छ ।

सुचना प्रविधिले फड्को मार्दै गरेको यो युगमा नेपालीको जीवनसंग यो समयलाई जोड्न सक्नुपर्ने उहाँको तर्क छ । उहाँले आजसम्म ४५० मेघावाट भन्दा बढि विजुली छिमेकी भारतबाट आयात भईरहनु लाजमर्दो भएको उल्लेख गर्दै अब बाम सरकारले यस्तो अबस्थाको अन्त्य गर्ने ठोकुवा गर्नुभयो । काभ्रेकै सन्दर्भमा तत्काल सुनकोसी जलविद्युतलाई अगाडी बढाउन सके मात्रै पनि भारतसंग निर्भर रहनुपर्ने अवस्थाको अन्त्य हुने उहाँको भनाई छ । वाह्रै महिना बगिरहने ईन्द्रावती र सुनकोसीबाटमात्रै काभ्रेले ठुलो फाईदा हांसील गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले जलायसययुक्त सुनकोसी जलविद्युत अबको बाम सरकारले सुरुवात गर्ने,फटाफट काम भएमा ६ देखी ७ वर्षमा यो आयोजना बनिसक्ने दाबी गर्नुभयो । यो आयोजनाबाट मात्रै जनताले ठुला लाभ प्राप्त गर्नसक्ने उहाँको तर्क छ । उहाँले जनविद्युतका लागि बनाईने जलासयमा माछापालन गर्न सकिनुका साथै डुंगा सयर र किसानलाई सिञ्चाईको पर्याप्त सुविधा पुग्ने बताउनुभयो । सुनकोसीमा पोखराको फेवाताल जस्तै ठुलो ताल बन्न सक्ने भएकोले आन्तरिक तथा वाह्य पर्यटनको विकास हुने र यसबाट आर्थिक सवृद्धिको पाटो बलियो बनाउन सकिने उहाँको योजना छ ।

एमाले केन्द्रिय स्कुल विभाग सदस्य समेत रहेका सांसद बाँस्कोटाले रेडियो नमोवुद्धको विहानी वहस ‘नमोवुद्ध डबली’ मार्फत काभ्रेमा साँस्कृतिक पर्यटनको विकासको अवधारणा तथा योजना पनि सार्वजनिक गर्नुभएको छ । उहाँले नमोवुद्ध,तेमाल,नाला तनचोक ,वेथानचोक नारायण,पलाञ्चोक भगवती,धनेश्वरी,चण्डेश्वरी जस्ता स्थलहरुलाई पनि विश्वसामु ल्याउन जरुरी रहेकोमा जोड दिनुभयो । वुद्धको जन्मथलो नेपाल परेपनि यसबाट खासै फाईदा लिन नसकेको भन्दै उहाँले वुद्धको पुर्व जन्म थलो नमोवुद्ध,गुरु रेन्पोछेले ध्यान गरेको पवित्रस्थल तेमालमा साँस्कृतिक पर्यटनको प्रवद्र्धन गर्ने योजना रहेको स्पष्ट पानुभयो । आफुले पहिल्यैदेखी बुद्ध सर्किटको अवधारणा ल्याएको उल्लेख गर्दै उहाँले तेमालमा साँस्कृतिक संग्रहालय बनाउन सकिने पनि बताउनुभयो ।

सांसद बाँस्कोटाले प्राकृतिक सौन्दर्यताले भरिएको डाँडापारी महाभारत सृंखला र त्यहाँ रहेका जडिबुटिको मुल्य बुझेर विभिन्न योजनाहरु कार्यन्वयन गर्न सकिने पनि बताउनुभयो । त्यस क्षेत्रमा दिर्घकालिन सोचाईका साथ विकासका पुर्वाधारहरु खडा गर्नुपर्ने उहाँको जोड छ ।
प्रदेश नम्बर तीनको राजधानी कुनैपनि हालतमा काभ्रे बनाउने पहल भईरहेको जानकारी दिदै उहाँले पाँचखालमा सुख्खा बन्दरगाह निर्माण जस्ता विषय पनि सेलाउन दिन नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !