• नमोबुद्ध संवाददाता

काभ्रे– सेलो थिएटरका कलाकारहरु यतिबेला गाउँ पसेका छन् । उनीहरु नाटक ‘महादान’ मार्फत सर्वसाधरणलाई आउँदो निर्वाचनबारे सचेतना बाँड्न काभ्रेका विभिन्न थलो पुगेका हुन् । मंगलबारदेखि शुरु भएको सेलोको नाट्य यात्रा एक साता जारी रहने बताइएको छ ।

निर्वाचन आयोग र सांस्कृतिक संस्थानसितको सहकार्यमा सेलो थिएटरका कलाकारहरुले नाटक तयार पारेका हुन् । मंगलबार मण्डन देउपुर नगरपालिकाको कुन्ताबेसी, पाँचखाल नगरपालिकाको तामाघाट र धुलिखेल नगरपालिकाको सरस्वती बजारमा नाटक मंचन गरियो । नाटकमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको महत्वदेखि कसरी भोट हाल्ने, डर–त्रास, धम्की र पैसाको लोभलालच आएमा के गर्ने ? आफ्नो मताधिकारको सदुपयोग कसरी गर्ने ? जस्ता सन्दर्भलाई कलात्मक प्रस्तुतिमा ढालिएको सेलो थिएटरकी संयोजक एवं अभिनेत्री शान्ति वाइवाले बताइन् ।

‘संविधानसभाको निर्वाचनको बेला पनि हामी यसरी नाटक यात्रा लिएर काभ्रे, सिन्धुपाल्चोक र धादिङको यात्रामा निस्केका थियौं’, वाइवाले भनिन्, ‘यसपटक काभ्रे र भक्तपुरमा हाम्रो नाट्य यात्रा चलिरहेको छ ।’ स्थानिय संस्कृति, जीवनशैली र परिवेश अनुसार तयार पारिएको नाटकमा वाइबासँगै सन्तोष तामाङ (गोले बोन्बो), विजय टुबा, सृष्टि भण्डारी, विन्दा तामाङ, प्रेम गोले लगायतको अभिनय रहेको छ । सेलो थिएटरले यसअघि ‘मेन्दोमाया’, ‘पेङदोर्जे’ जस्ता नाटकसँगै ‘हाम्रो एउटै आँगन’, ‘छोड्नै नहुने मौका’, ‘कुर्सी खाली छ’, ‘ठि थान थान’, ‘त्रिपाल’ जस्ता सडक नाटक र फोरम नाटक गरिसकेको छ ।

बुधबार बेथानचोकको ढुंखर्क, पनौती नगरपालिका, बनेपा नगरपालिका लगायतको थलोमा नाटक मंचन हुने सेलोका प्रोगाम कोअर्डिनेटर जगत तामाङले जनाए । यसपछि नाट्य टोली तेमाल, भुम्लु, चौरी देउराली, रोशी, नमोबुद्ध, महाभारत, खानीखोला लगायतको थलोमा पुग्ने उनले जनाए ।  यस्ता नाटकले नागरिक सचेतना निर्माणमा सघाउने भएकाले यसपटकदेखि सांस्कृतिक संस्थान निर्वाचन नाटकमा लागिपरेको संस्थानका प्रतिनिधि सुर्दशन थापाले बताए ।

प्रतिक्रिया दिनुहोस !