- नमोबुद्ध संवाददाता
साँगा, काभ्रेपलाञ्चोक,१२ मंसिर : प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको पुर्वसन्ध्यामा साँगा प्रहरी चौकीले सक्रियता बढाएको छ । जाँडरक्सी खाएर होहल्ला गरेर शान्ती सुरक्षामा खलल पुग्न सक्ने भन्दै शान्ति सुरक्षाको पहरेदार मानिएका प्रहरीले उक्त क्षेत्रमा घरेलु मदिरा बेचविखनमा समेत रोक लगाएको छ ।
यसैबिच बरामद भएका संयौ लिटर मदिरा(रक्सी) मंगलबार नष्ट गरिएको छ । व्यवसायिक प्रयोजनका लागि घरेलु मदिरा,ओसारपसार तथा बेचविखन कानुनको दृष्टिले पनि विपरित भएकोले दुईपटक गरी बरामद भएका २६ जर्किन(५२० लिटर) रक्सी नष्ट गरिएको प्रहरी चौकीका ईञ्चार्ज सानुबाबु बाँनियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो –‘निर्वाचनको पुर्वसन्ध्यामा कुनै अप्रिय घटना नघटुन् र निर्वाचनको सुरक्षामा नकारात्मक असर नपरुन् भनेर हामीले चेकजाँच पनि कडा पारेका छौं ।’
काठमाण्डौदेखी अरनिको राजमार्ग भएर पुर्वि नेपाल आउजाउको मुख्य नाका भएकोले साँगामा प्रहरीले बढाएको सक्रियताप्रति स्थानिय पनि खुसी देखिन्छन् । मंगलबार चौकी परिसरमा भेटिएका एमाले बनेपा नगर ईञ्चार्ज हरिदेव गिरी,वडाध्यक्ष गौरी राउत र सदस्य शान्ता कार्कीले त्यस्तै भाव व्यक्त गरे । सरकारले स्थानिय जनतालाई शान्ति र अमन चयनका साथ बाँच्न दिन सुरक्षाको प्रत्याभुतिसंगै रोजगारको व्यवस्था गर्नुपर्ने उनिहरुको तर्क थियो ।
त्यस्तै प्रहरी चौकीका ईञ्चार्ज बाँनियाले अहिले चेकपोष्ट र आसपासका गाउँसम्म सुरक्षा वहालीका लागि निगरानी बढाएको जानकारी पनि दिनुभयो । विहान बेलुका नियमित सवारी चेकजाँच र दिउंसो छड्के जाँच भईरहेको उहाँले जनाउनुभयो । यसले यात्रुको सुरक्षाको पनि सवाल राख्ने उहाँको भनाई छ । काठमाण्डौं,काभ्रेपलाञ्चोक सहितका विभिन्न ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुने भएकोले त्यसलाई सफल बनाउन प्रहरीले खेल्नुपर्ने भुमिकामा दत्तचित्त भएर लागेको उहाँको दाबी छ । आपराधिक गिरोह,आतंक मच्चाउने तत्वको सक्रियता निमिट्यान्न पार्ने क्रममा सुरक्षा जाँचको भुमिका महत्वपुर्ण हुने उहाँको तर्क छ ।
साँगा चौकीले विगतमा अपराधिक गिरोहले काठमाण्डौं भित्राउन खोजेका अबैध रक्तचन्दनदेखी सुनसम्म बरामद र विभिन्न अपराधमा संलग्नलाई पक्राउ गरेको घटना छ । त्यसैले पनि सुरक्षा सतर्कताको दृष्टिले साँगा नाका महत्वपुर्ण मानिन्छ । यिनै तथ्यलाई दृष्टिगत गरी त्यस्ता पृष्ठभुमिका तत्वहरुको निगरानी बढाईएको पनि साँगा प्रहरी स्पष्ट पारेको छ ।