
- नमोवुद्ध संवाददाता
पनौती, काभ्रे, ९ मंसिरः प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ तर्फ प्रदेशसभा (ख) का बाम गठबन्धन् उम्मेद्वार चन्द्र लामाले आफु जनताको सेवक बन्न आतुर रहेको बताउनुभएको छ । जनता देशका मालिक रहेको भन्दै आफु जनताको सुखदुखमा संधै संगै रहने उहाँको प्रतिवद्धता छ । शनिबार पनौती सुनथानमा आयोजित कोणसभामा सम्बोधनको क्रममा उहाँले भन्नुभयो,‘हामी गोरु हौं,तपाईहरु जत्ति सक्नुहुन्छ जोत्नुहोस्,हामी जोतिन तयार छौं ।’ युवा संघका केन्द्रिय उपाध्यक्ष समेत रहेका लामाले अवको आफ्नो जोस जाँगर जनतालाई सबृद्ध बनाउन समर्पित गर्ने बताउनुभयो ।
उहाँले सुन्तलाको राम्रो उत्पादन हुने सुनथानमा यसले उचित मुल्य नपाएकोले सुन्तलालाई वहुआयामिक उपयोगितामा ल्याउन किसानकै सहभागितामा उद्योग खोल्ने योजना रहेको सुनाउनुभयो । उहाँले उब्जाउको दृष्टिले उर्वरभुमि सुनथानमा खानेपानी र सिञ्चाँईको व्यवस्था आफ्नो पहिलो प्राथमिकता रहने बताउनुभयो ।
उहाँले तत्कालिन सांसद रामहरि सुवेदीको कार्यकालमा डिपीआर भईसकेको पनौती सुनथान नमोवुद्ध सडक विपी राजमार्गसंग जोडिने र त्यसको पिच समेत गर्ने वचन दिनुभयो । उहाँले संसारकै प्रसिद्ध पर्यटकिय क्षेत्र नमोवुद्ध र विपी राजमार्गसम्म सिधा सडक सञ्जाल जोडी स्थानिय संस्कृति,प्राकृतिक छटाहरुको प्रवद्र्धन गर्दै पर्यटन विकासका कार्यक्रम गर्ने प्रतिवद्धता जनाउनुभयो । ‘नमोवुद्धसम्म सिधा सडक सञ्जाल जोडिनेछु,यहाँ होमस्टे रिसोर्टहरु खुल्नेछन्,फ्यान्टा हैन अब यहाँकै सुन्तलाको जुस बन्नेछ ।’–उहाँले भन्नुभयो ।
२०५१ मा एमाले अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेको आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रमपछि सुनथान लागयत जिल्लाका गाउँ गाउँसम्म सडक खन्न थालिएको,बृद्धबाआमाहरुको सुरक्षाका लागि भत्ताको व्यवस्था जस्ता कार्यक्रम लोकप्रिय रहेको दाबी गर्दै अब बृद्ध भत्ता महिनाको ५ हजार पुर्याउन पहल कदमी लिने बताउनुभयो ।
लामाले युवा रोजगारका लागि गाउँमै विभिन्न उद्योगहरु खोल्न सकिने बताउनुभयो । काभ्रेमा कृषि,जडिवुटि,जलविद्युत,पर्यटनमा अथाह सम्भावना रहेको उहाँको तर्क छ । तिनको विकासका लागि काभ्रेलीहरु सक्षम रहेको उहाँको भनाई छ । त्यसलाई साकार रुप दिन जनताको साथ आश्यक रहेकोमा जोड दिदै उहाँले प्रदेशसभामा आफुलाई निर्वाचित गराउन आग्रह गर्नुभयो ।