• नमोबुद्ध संवाददाता

तुलसीपुर (दाङ),  नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले वाम गठबन्धले जनतामा उत्साह थपेको बताउनुभएको छ ।

दाङ निर्वाचन क्षेत्र नं ३ मा वाम गठबन्धनले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले अहिलेसम्म वामपन्थी शक्ति एक हुन नसक्दा काँग्रेसले फाइदा लिएको बताउनुभयो ।

दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहनु भएका महराले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न वामपन्थी शक्तिबीच गठबन्धन गरिएको उल्लेख गर्दै “हामी अहिले ऐतिहासिक घडीमा छौँ, यो गठबन्धनलाई भत्काउन ठूलो शक्ति लागिपरेको छ, त्यसको डटेर सामना गर्नोस्,” भन्नुभयो ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा क्षेत्र नं २ का प्रदेश(क) का उमेदवार शंकर पोख्रेलले वामपन्थी गठबन्धन देखेर काँग्रेस अत्तालिएको बताउनुभयो ।

माओवादी केन्द्रका नेता जीवन गौतम, रामजी चौधरी, कुवेर वली तथा एमाले नेता घनश्याम पाण्डे, टीकाराम खड्का, कोमल वलीलगायतले वाम गठबन्धनलाई सहयोग गर्न आह्वान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !