- नमोबुद्ध संवाददाता
काठमाडौं– ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा हुने २५० औं विजयोत्सवमा सहभागी हुन १ सय ५० जनाको साइकल यात्रीको टोली बिहीबार काठमाडौंबाट प्रस्थान गरेको छ । साइकल यात्राको उपराष्टपति नन्दबहादुर पुनले काठमाडौंको तीनकुनेबाट भब्य समारोहबीच उद्घाटन गरे ।
तत्कालीन ब्रिटिस इन्डिया कम्पनीको सेनालाई गोर्खाली सेनाले परास्त गरेको दिनको सम्झनामा युद्धस्थल सिन्धुलीगढीमा कात्तिक २४ गते विजयोत्सव मनाइन्छ । समृद्ध सिन्धुली अभियानले कमलामाई नगरपालिकासँग मिलेर विजयोत्सवका अबसरमा काठमाडौंदेखि सिन्धुलीगढीहुँदै सिन्धुलीमाढीसम्म साइकल यात्रा गर्दै आएको छ ।
उपराष्टपति पुनले उद्घाटन अबसरमा साइकल यात्राको नेतृत्व गरिरहेका विश्व साइकल यात्री पुस्कर शाह र साइक्लिडकी डाउनहिल च्याम्पियन निस्मा श्रेष्ठलाई नेपालको झण्डा र विजयउत्सवको झण्डा हस्तान्तरण गरे । त्यस अबसरमा अभियानका संयोजक लीलानाथ घिमिरेले नेपालको इतिहासमा सिन्धुलीगढी युद्धको महत्वको चर्चा गर्दै पुर्खाको बीरताको इतिहास बुझ्न हरेक नेपाली एक पटक पुग्नै पर्ने बताए । त्यस अबसरमा साइकल यात्राका संयोजक सौरभ ढकालले उपराष्टपति पुनलाई तीन दिने यात्रा कार्यक्रमको पुस्तिका हस्तान्तरण गरेका थिए । त्यस्तै नेपाली सेनाले भक्तपुरको जगाती, काभ्रेको धुलिखेल, भकुन्डेवेसीलगायतका स्थानमा ऐतिहासिक स्थलमा विजयोत्सव मनाउन जान लागेका यात्रुलाई भब्य स्वागत गरेको थियो ।
बिजयोत्सवका बेला सिन्धुलीगढीलाई राजधानीसँग जोड्न साइकल यात्रा गर्न लागिएको हो । यस बर्ष गढीयुद्धमा विजय हासिल गरेको २५० बर्ष पुग्दैछ । ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले वीरता प्रदर्शन गरेको विजयोत्सवलाई भब्य बनाउन अभियानले ‘राइड टु सिन्धुलीगढी’ नाममा साइकल यात्रा र त्यही दिन साँझ सिन्धुलीमाढीमा विजयोत्सव साङ्गीतिक समारोह गर्न लागेको अभियानले जानकारी दिएको छ ।
यस बर्षको विजयोत्सव भब्य बनाउने एक बर्षदेखि तयारी गरिएको थियो । सिन्धुलीगढीमा मनाइने विजयोत्सवमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनु हुनेछ । विजयोत्सवका कार्यक्रममा राष्ट्रप्रमुख तथा उपप्रमुख दुवैजनाको सहभागीता भएकाले कार्यक्रमको महत्व बढेको अभियन्ता लीलानाथ घिमिरेले बताए । अभियानका संयोजक घिमिरेले सिन्धुलीगढीलाई विश्वसामु चिनाउन साइकल यात्रा आयोजना गरिएको बताए । ‘हामीले हरेक बर्ष गरिने साइकल यात्रालाई अन्तराष्ट्रिय स्तरको बनाउने प्रयास गरेका छौं । ‘राइड टु सिन्धुलीगढी’ नाममा ब्रान्डिङ गरेर यस यात्रामा विश्वभरिका साइकल यात्रामा रमाउन चाहनेहरुलाई सहभागी गराउने योजना छ’ घिमिरेले भने, ‘यसलाई राइड टु सिन्धुलीगढी नाममा ब्रन्डिङ गरेका छौं । यस बर्ष विदेशीसमेत साइकल यात्रामा सहभागी भएका छन् ।
साइकल यात्री कात्तिक २४ गते हुने विजयोत्सवमा सहभागी भएर साँझ सिन्धुलीमाढी पुग्ने छन् । त्यहाँ साइकल यात्रीका लागि उद्योग बाणिज्य संघले विजयोत्सव सांगितिक साँझ आयोजना गर्ने छ । सांगितिक समारोहमा स्थानीय कलाकारले विभिन्न जातजातिका भेषभुषा, नृत्य, संस्कृति प्रदर्शन गर्ने छन् । साइकल यात्री काठमाडौंबाट झण्डै १ सय ५३ किलोमिटर यात्रा तय गरेर सिन्धुलीमाढी पुग्ने ढकालले जानकारी दिए ।
यात्रुको सुविधाका लागि आयोजकले खाने, बस्ने, बीमा, एम्बुलेन्सहितको मेडिकल टिम, स्वयंसेवकहरु, साइकल मेकानिक्सहरुको ब्यवस्था गरेको छ ।