फ्रान्सको ‘फर्स्ट डग’ ले राष्ट्रपति इम्यानुएल म्याक्रोनको एउटा बैठक बिथोलिदिएको छ। त्यो पनि एलिजी दरबारको अगेनोमा मुत्र बिसर्जन गरिदिएर। राष्ट्रपति कार्यालयको सजावटी अगेनोमा म्याक्रोनको पाल्तु कुकुर नेमोले पिसाब गर्दै गरेको भिडियो सार्वजनिक भएपछि त्यसले चर्चा पाएको छ।
आफ्नै कार्यालयमा म्याक्रोन सरकारका तीन मन्त्रीहरुसँग छलफल गरिरहेका थिए। एउटा अनौठो आवाज सुनेपछि उनीहरुले पछाडि फर्केर हेर्दा कुकुर पिसाब गरिरहेको थियो।
‘त्यो आवाज केको थियो भनेर म चकित भएको थिएँ,’ एक मन्त्रीले भनेका थिए।
‘यस्तो बारम्बार भइरहन्छ?’ अर्का मन्त्रीले सोधेका थिए।
‘होइन,’ राष्ट्रमन्त्री म्याक्रोनले रातोपिरो हुँदै उत्तर दिएको भिडियोमा देख्न सकिन्छ।
नेमो ल्याब्राडोर–ग्रिफिन क्रस जातिको कुकुर हो, जुन राष्ट्रपति म्याक्रोन र प्रथम महिला ब्रिजिटसँगै बारम्बार देखिने गर्छ। उनीहरुले सो कुकुर गत अगस्टमा एक रेस्क्यु सेन्टरबाट लिएका थिए।
यसअघि पनि फ्रान्सेली राष्ट्रपतिका कुकुरहरुले गरेको बदमासी समाचारको विषय बन्ने गरेको छ। ती कुकुरहरुको फोटो राष्ट्रपतिहरुसँगै म्यागेजिनहरुको आवरणमा छापिने गरेका छन्।
निकोलस सार्कोजी राष्ट्रपति हुँदा उनको कुकुरले एलिजी दरबारका फर्निचर टोकेर क्षति पुर्याएको थियो। सार्कोजीको बहिर्गमनपछि ती फर्निचर मर्मत गर्न हजारौँ युरो खर्च भएको जनाइएको छ।
ज्याक्स चिराकको सुमो नामक कुकुर पनि एलिजी दरबारको सुविधासम्पन्न जीवन छोडेर नियमित जीवनमा फर्केपछि डिप्रेसनको शिकार भएको थियो। सो कुकुरले चिराकलाई तीन पटक टोकेको र अन्ततः उनले कुकुरलाई त्यागेको बताइएको छ। एजेन्सी