काठमाडौं । बिहीबार साँझ काठमाडौैंको महाबौद्ध झिलिमिली बत्तीले धपक्कै थियो । तिहारका लागि किनमेल गर्न आउनेको भीडले व्यापारीहरुलाई भ्याइनभ्याइ थियो ।
उनीहरुलाई सामान्य कुराकानी गर्नसमेत फुर्सद थिएन । थोक तथा खुद्रा पसलमा मात्र होइन, सडक पेटीमा नाङ्ले पसल राख्नेहरुमा पनि यस्तै हतारोपन देखिन्थ्यो ।
लत्ताकपडा, मिठाइ र चकलेट मात्रै होइन, तिहारमा बत्तीको व्यापार पनि उच्च हुन्छ । महाबौद्ध, असन, न्युरोडलगायत क्षेत्रका व्यापारीलाई सास फेर्ने फुर्सद छैन ।
घर र कार्यालय साजसज्जाका लागि झिलिमिली बत्ती किन्न आउनेको लर्कोले व्यापारीलाई बेफूर्सदीमात्रै बनाएको छैन, उनीहरुको व्यापार पनि चौगुणा बढाएको छ ।
महाबौद्धको गल्लीमा यस्तै झिलिमिली बत्ती राखेका लोहित श्रेष्ठले तिहार लागेसँगै आफ्नो व्यस्तता बढेको अनुभव सुनाए ।