राष्ट्रपति डा. रामवरण यादवले जेष्ठ १४ भित्रै संविधान जारी गर्ने वातावरण बनाउन दलका शिर्ष नेताहरुको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आज बिहान एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शुसील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका बिजयकुमार गच्छेदारलाई बोलाएर राष्ट्रपति यादवले जातिय सद्भाव नबिथोलिने गरी संविधानका विषयमा सहमति खोज्न आग्रह गर्नुभयो । बैठकपछी नेताहरुले जेष्ठ १४ भित्र संविधान जारी गर्ने गरी सहमति गर्न आग्रह गरेको बताउनुभयो । उहांहरुले राष्ट्रपति तथा आफुहरु पनि संविधानसभा म्याद थप्ने पक्षमा नरहेको प्रष्ट गर्नुभयो । चार दलका शिर्ष नेताहरुसंग छलफल सकिए लगत्तै राष्ट्रपति यादवले प्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई समेत छुट्टै भेट गर्नुभएको थियो । भेटका क्रममा शान्ति सुरक्षा कायम गर्न र उत्तेजनात्मक गतिविधिको निगरानी गर्न राष्ट्रपति यादवले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको बुझिएको छ । हिजो देखी शुरु भएको नेपाल बन्द हिंसात्मक बन्दै गएपछी राष्ट्रपति यादवले अचनाक आज दलका नेताहरुसंग छलफल गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !