पोखराबाट जोमसोमका लागि उडेको अग्नी एयरको ९ आइ जी बिमान बिहान जोमसोम नजिकै दुर्घटना भएको छ । दुर्घटनामा परेका ६ यात्रुको जिबितै उद्धार गरिएको छ भने १५ जनाको ज्यान गएको छ ।
पोखराबाट बिहान साढे ९ बजे जोमसोमका लागि उडेको बिमान जोमसोम बिमानस्थलमा अवतरण गर्ने क्रममा अवतरणका क्रममा ९ बजेर ४५ जाँदा दुर्घटना भएको हो ।
बिमानमा सवार १८ यात्रु र ३ चालक दलका सदस्य सहित २१ मध्ये अहिले सम्म ६ जनाको जिबीतै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । दुर्घटनामा १३ भारतीय तीर्थयात्रु र चालक दलका दुई सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रमुख चालक प्रभुशरण पाठक र सहचालक एसबि मर्हजन रहेका छन् । अन्यको भने सनाखत हुन सकेको छैन ।
जिबीत उद्धार गरिएका मध्ये बिमानकी परिचारिका, दुई बालक सहित तीन भारतीय नागरिक र दुई बिदेशी नागरिक रहेका छन् । घाइते मध्ये ५ जनाको अबस्था चिन्ताजनक रहेको उद्धारमा संलग्न मुस्ताङ्गका प्रहरी निरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । उनीहरुलाई तारा एयरको बिमान र सिम्रीक एयरको हेलिकप्टर मार्फत उपचारका लागि पोखरा पठाइसकिएको छ ।
बिमानमा सवार यात्रु मध्ये १६ जना भारतीय र २ बिदेशी नागरिक रहेका थिए । भारतीय नागरिकहरु प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि गएका थिए । अहिले पनि घटनास्थलामा नेपाली सेना, शसस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गरिएको छ । मृतकको शब जोमसोम बिमानस्थलमा पठाएर अहिले घटनास्थलमा सर्च गरिरहेको छ ।
बिमान अवतरण गर्नेक्रममा टर्निङ्ग नपुगेर एयरपोर्ट देखि तीन सय मिटर टाढा रहेको डाडाँमा माटोको ढिस्कोमा ठोक्किएर दुर्घटना भएको थियो । माटोमा ढिस्कोमा ठोक्कीएको बिमान खोचमा खसेका कारण आगो लागेको स्थानिय पत्यक्ष दर्शी शिक्षीका रमादेबी बस्ताकोटीले जानकारी दिनुभयो । बिमान भित्तोमा ठोक्किएपछि एउटा पखेटा झरेको आफु्ँले देखेको बताउनुभयो ।