काठमाडौ, बैशाख ३१ । एक वर्षको अवधिमा कारबाहीमा परेका प्रहरीको तथ्याङकले पनि प्रहरी संगठनभित्र कति धेरै भ्रष्टाचार छ भन्ने प्रष्ट पार्छ। प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाहले पटक―पटक भ्रष्ट प्रहरीहरुलाई कारवाही गर्ने प्रतिबद्धता जनाए पनि महानिरीक्षकको प्रतिबद्धतालाई हावामा उडाइएको प्रहरी तथ्यांकले नै बताउँछ। २०६८ सालमा मात्र दुई हजार ५ सय ९२ प्रहरी कारबाही परेका छन्। प्रहरी प्रधान कार्यालयको तथ्याङकअनुसार एक वर्षको अवधिमा चार सय १२ जना प्रहरीलाई नोकरीबाट हटाइएको छ। जसमा एक जना डिएसपी, पाँच जना प्रहरी निरीक्षक, १५ जना सई, १० जना असई, ४९ जना प्रहरी हवल्दार र तीन सय १५ जना प्रहरी जवान छन्।
त्यसैगरी चार सईसहित २१ जनालाई बर्खास्त गरिएको छ भने तीन डिएसपीसहित एक हजार पाँच सय ६३ जनालाई संगठनको नियमविपरीत काम गरेकोमा रेकर्डमा जनिने गरी नसिहत दिइएको छ। जसमा तीन जना डिएसपी, १२ जना इन्सपेक्टर, ६१ जना सई, एक सय चार जना असई, दुई सय ६१ जना प्रहरी हवल्दार र एह हजार एक सय १७ जना जवान छन्।
त्यसैगरी दुई इन्सपेक्टरसहित ३२ जनाको ग्रेड रोक्का, तीन जना सईको ग्रेड घटुवा र एक डिएसपीसहित एक सय ९२ जनाको पदोन्नती रोक्का गरिएको छ। ८ जनाको पद घटुवा, एक सय ६४ जनाको तल्लो टाइमस्केलमा घटुवा, एक सय ९९ जनाको निलम्बन गरिएको छ।
करिब ६० हजारको प्रहरी फोर्समा एक वर्षमा २५ सय भन्दा बढी प्रहरी कारबाहीमा पर्नु आश्चर्यजनक भएको एक उच्च प्रहरी अधिकारीको भनाइ छ। धेरैजसो आर्थिक अनियमिततामा संलग्न घटनामा कारबाहीमा परेका छन्। यति धेरै कारवाही हुँदा पनि प्रहरीको आचारणमा अझै सुधार आउन सकेको छैन। उपत्यकाकै कुरा गर्ने हो भने हरेक वडा प्रहरी कार्यालयमा भ्रष्टाचार व्याप्त छ।

प्रतिक्रिया दिनुहोस !