इराक र अफगानिस्तानको युद्धमा घाइते अमेरिकी सैनिकले सर्वोच्च शिखर सगरमाथामा चढेको विषयमाथि हलिउड सिनेमा हाइग्राउण्ड निर्माण गरिएको छ। हलिउड फिल्म द लायन किङका निर्माता डन हान र एमी अवार्ड विजेता निर्देशक माइकल ब्राउनको सहकार्यमा फिल्म निर्माण गरिएको हो।

माइकलले पाँच पटक सगरमाथा चढिसकेका छन्। सन् २००२ देखि अफगानिस्तान र इराकमा खटिएका करिब ५० हजार अमेरिकी सैनिक घाइते भएर स्वदेश फर्किइसकेका छन्। फिल्मको अनलाइनमा जनाइएअनुसार युद्धमा पीडादायी जीवन बिताएर फर्किएका ११ सैनिकको कथालाई फिल्ममा समेटिएको छ। ती सैनिकमा एक दृष्टिविहीन छन् भने तीन घुँडामुनिको भाग गुमाएका छन् र बाँकी सैनिक युद्धको मानसिक र भावनात्मक असरको चोटमा परेका छन्।

फिल्ममा सैनिकको पर्वतारोहण अभियानको अगुवाई विश्वकै प्रथम दृष्टिविहीन पर्वतारोही एरिक वेहनमेयरले गरेका छन्। फिल्मका लागि क्रिस बेकोनले कम्पोजरको रूपमा काम गरेका छन् भने ओस्कार विजेता फिल्म इन्सेप्सनका अमेरिकन साउन्ड इञ्जिनियर गेरी रिजोले मिक्सिङ गरेका छन्। फिल्मलाई नेपालमा रहेको २० हजार ३५ फिट उचाइको लोबुचेमा छायांकन गरिएको छ। घाइते सैनिक आरोहीलाई नेपाल ल्याउन प्रमुख भूमिका निभाएका वल्र्ड टिम स्पोर्टसका सीइओ जेफ मेसनरले घाइते सैनिकको आत्मविश्वास बढाउन आफूले उनीहरूलाई नेपाल ल्याएको बताएका छन्।

फिल्ममा घाइते सैनिकहरू निकोलिट मारोउलिस, डान सिडल्स, स्टेभ बास्किस, क्याथरिन रागाजिनो, आस्ले ग्राण्डल, म्याट नाइमेन, एरोन आइज्याकसोन, कोडी मिरान्डा, चाड जुकेस, चाड बुट्रिक, जस्टिन मोर र लोना पार्टनले अभिनय गरेका छन्। यो फिल्मले विभिन्न फिल्म फेस्टिबलमा सहभागिता जनाएर अवार्डसमेत प्राप्त गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस !