काठमाडौं, बैशाख २७, गृहमन्त्री विजयकुमार गच्छदार पछिल्लो समयमा भूमाफिय, ठग र दलालहरूमार्फत करोडौं कमाउने अभियानमा जुटेपछि राष्ट्रिय सतर्कता केन्द्रले गच्छदारका कृयाकलापप्रति छानविन शुरु गरेको छ। महाराजगञ्जमा रहेको कुष्ठरोग निवारण संघले भोगचलन गर्दै आएको करोडौं मूल्यको जग्गा स्थानिय महालक्ष्मी पाण्डेले गैरकानुनी रुपमा आफ्नो नाममा दर्ता गरेको प्रकरणमा गृहमन्त्री गच्छदार र उनका साला भनेर चिनिने सहदेव कक्षपति मुछिएका छन्। स्रोतका अनुसार २०२२ सालदेखि मारवाडी सेवा समिति मोही रहेको उक्त जग्गामा साहू नभएको विवरण पेश गरेर कक्षपतिको डिजाइनमा उक्त जग्गा महालक्ष्मी पाण्डेको नाममा दर्ता कायम गरिएको छ। शुरुमा झण्डै सात रोपनी रहेको उक्त जग्गा स्थानिय नेवार समूदायको मिचाईका कारण यतिखेर तीन रोपनीमा सीमित रहेको छ भने हाल उक्त जग्गा समेत भूमाफियाका रुपमा परिचित कक्षपतिले स्थानिय व्यक्तिको नममा पास गराउन सफल भएपछि कुष्ठरोग पीडितहरू प्रभावित बन्ने भएका छन्। मारवाडी सेवा समितिले २०२५ सालमा सम्झौता गरी उक्त जग्गा कुष्ठरोग निवारण संघलाई दिएको थियो। तर कुष्ठरोग निवारण संघले भोगचलन गर्दै आइरहेको जग्गा एकाएक पाण्डेको नाममा पास भएपछि यो खेलमा गृहमन्त्री गच्छदार समेत संलग्न रहेको यतिखेर रहस्य खुलेको हो। उक्त जग्गामा अतिथि पार्टी प्यालेस समेत सञ्चालित छ। महाराजगञ्जका एमाले नेता दीपक केसीले अतिथि पार्टी प्यालेस का रत्न गौतमसँग मासिक रुपमा रकम असुलेर गौतमलाई सहयोग गर्दै आइरहेको स्थानिय बासिन्दाहरू बताउँछन्। शुरुमा पाण्डे र कक्षपतिसँग मिलेर काम गर्न खोजेका केसीले फाइदा नहुने देखेपछि सतर्कता केन्द्रमा उजुरी हाल्न उक्साएको स्रोतले थप बतायो। सतर्कता केन्द्रले उपसचिव अर्जुन खनालको नेतृत्वमा पाँच सदस्यीय छानविन टोली गठन गरी छानविन थालेको जनाएको छ। उता सरकारी अनुदानमा रहेको संस्थाले प्रयोग गर्दै आइरहेको जग्गा व्यक्ति विशेषले एकाएक आफ्नो नाममा दर्ता गराउँदा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो नदेखाउँदा कक्षपति जस्ता भूमाफियाहरू सल्वलाउन थालेका छन्। पाण्डेको नाममा उक्त जग्गा पास गराइए पनि कक्षपतिले करिब ५ करोड रकम पाण्डेलाई दिएर उक्त जग्गा आफ्ना नाममा ल्याउन लागेको स्रोतको दावी छ। त्यसो त अन्य लगानी कर्ता खोजेर त्यहाँ ठूलो कम्प्लेक्स बनाउने खेलमा कक्षपति जुटेका छन्। रविभवनमा रहेको अमेरिकी दुतावासको ४५ रोपनी जग्गा पनि कक्षपतिले यसैगरी आफ्ना नाममा ल्याएका थिए। उक्त जग्गा खरिद गर्न लगानी गर्ने अमृत शाक्य र सुर्वणलाल श्रेष्ठ यतिखेर कक्षपतिका कारण सडकमा आइपुगेका छन्।

प्रतिक्रिया दिनुहोस !