कैलालीको सुगरखाल गाविसमा अत्याधुनिक हतियारका गोलीगठ्ठाहरू भेटिएका छन्। सुगरखाल–९, भालुमारे खोलामा ओढारमा लुकाएर राखेको अवस्थामा अत्याधुनिक हतियारका गोली तथा म्याग्जिनहरू आइतबार सशस्त्र प्रहरीले फेला पारेको हो।
दुई साताअघि मात्रै सोही ठाउँमा ठूलो परिणाममा अत्याधुनिक हतियारका पार्टपुर्जाहरू प्रहरीले फेला पारेको थियो। पहिले फेला पारेको ठाउँभन्दा केही तल ओढारमा लुकाएर राखेको अवस्थामा आइतबार पुनः सशस्त्र प्रहरीको टोलीले अत्याधुनिक हतियारका गोलीहरू भेटाएको हो।
विशेष सुराकीका आधारमा ४ वटा बोरामा सुरक्षित तरिकाले राखिएको अवस्थामा एके–४७, एम–१६, एसएमजी, एसएलआरलगायतका हतियारका गोली तथा म्याग्जिनहरू भेटिएको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल बस्नेतले जानकारी दिए।
सुराकीका आधारमा वैद्यनाथ बाहिनीबाट गएको टोलीले एम–१६ र एके–४७ राइफलमा प्रयोग गरिने १ हजार ९ सय ३७ राउन्ड गोली, एसएमजी र पेस्तोलमा प्रयोग हुने २ सय ८६ राउन्ड गोली र एसएलआर र आइएमजीमा प्रयोग हुने ५ सय १९ राउन्ड गोली बरामद गरेको प्रहरी नायब महानिरीक्षक बस्नेतले बताए।
यस्तै एम–१६ को २७ वटा म्याग्जिन, इन्सास राइफलको २३ वटा म्याग्जिन, एसएमजीको ७ वटा म्यग्जिन, एसएलआरको ५७ वटा म्याग्जिन, आइएमजीको ७ वटा म्याग्जिन र २२ वटा गोलीहरू राख्ने चाचर भेटिएका छन्।
एके–४७ नामक अत्याधुनिक हतियार नेपाली सुरक्षाकर्मीले बोक्दैनन् भने एम–१६ हतियार नेपालमा नेपाली सेनाले मात्रै बोक्ने गरेको छ। एके–४७ नामक अत्याधुनिक हतियार भारतीय सेनाले बोक्ने गरेका छन्।
हतियार कसले राखेको हो भन्ने थाहा हुन नसकेको र अनुसन्धान भइरहेको प्रहरी नायब महानिरीक्षक बस्नेतले जानकारी दिए। ‘भेटिएका गोलीगठ्ठाहरू कसको हो र कहिले राखेको हो भन्न सकिने अवस्था छैन, हामी अनुसन्धान गरिरहेका छौं’ –उनले भने।
ओढारमा ठूलो मात्रामा अत्याधुनिक हतियारका गोली तथा म्यागेजिनहरू राखिएको भन्ने गोप्य सूचनाका आधारमा बाहिनीले सशस्त्र प्रहरी नायब उपरीक्षक धनबहादुर सिंहको नेतृत्वमा प्रहरी टोली खटाएको थियो। करिब दुई साताअघि भेटिएका हतियारका पार्टपुर्जा राख्नेले नै ती गोलीहरू राखेको हुन हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
यही वैशाख ८ गते मात्रै सशस्त्र प्रहरीको टोलीले सोही क्षेत्रबाट लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा अत्याधुनिक हतियारका पार्टपुर्जाहरू फेला पारेको थियो। प्रहरीले एलएमजीको ब्यारेल दुईवटा र त्यसका २४ वटा म्यागेजिन, इन्सासका ५ वटा म्यागेजिन त्यसमा प्रयोग गरिने १ सय ६ राउन्ड गोली, एसएलआरको एक म्यागेजिन र त्यसमा प्रयोग गरिने ८ सय ६० राउन्ड गोली भेटाएको थियो।
यसै गरी रोल्पाको गैरी गाउँ ६ वासठानानजिक खोलाको किनारमा गाडिराखेको कालो ट्यांकीभित्र राखेको अवस्थामा एपीएफ टोलीले ठूलो मात्रामा बम तथा विस्फोटक पदार्थ र गोलीगठ्ठा सोमबार बरामद गरेको थियो।
सो ठाउँमा सशस्त्र प्रहरी बल सुरक्षा बेस टिला रोल्पाबाट खटिएको एपीएफ टोलीले ८१ एमएम मोर्टारको एचई बम सात थान र स्मोक बम आठ थान, थ्री नट थ्री राइफलको गोली ४ सय ७७ थान, एसएलआरको म्याग्जिन एउटा, सेफ्टी फ्युज १ हजार २ सय मिटर, डेटोनेटर इलेक्ट्रोनिक २ सय ८८ थान, ठूलो सकेट ४८ थान, सानो सकेट ४ सय ५३ थान, सानो सकेटको बाहिरी भाग १ सय ७३ थान, इलेक्ट्रोनिक तार ३ सय मिटर, पटका १५ प्याकेट बरामद गरेको थियो।
त्यसै बेला सो ट्यांकीमा खतरायुक्त अवस्थामा रहेका चार थान सकेट बम मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालयबाट खटिएको बम डिस्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको थियो।
एपीएफ टोलीले त्यसै ठाउँको वरपर खोजतलास गर्ने क्रममा विभिन्न किसिमको पेस्तोलको गोली १३ राउन्ड तथा इन्सास राइफलको गोली एउटा, थ्री नट थ्री राइफलको गोली राख्ने चाचर चार थान, टीएनटी दुई थान, मल्टी प्लक चार थान, डेटकर्ड एक मिटर, मोटो कालो तार चार मिटर र एउटा सानो कालो झोलासमेत बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस !