काठमाडौ । नेपाली सेनाको सम्भार रथी विभागलाई २०५०/५१ सालमा विभिन्न सामानहरु आपुर्ती गर्ने क्रममा सैनिक कर्मचारीहरुसंगको मिलेमतोमा छपाइ सम्बन्धी सामाग्रीहरु, ढक तराजु, ताल्चा लगायतका सामाग्रीहरु आपुर्ती गर्दा बजार मुल्य भन्दा अत्यधिक चर्को मुल्यमा सामानहरु विक्री गरी किर्ते बिल भर्पाइ तयार गरी भुक्तानी लिएको भष्ट्राचार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट २०६५ साल असार १८ गतेको फैसला अनुसार फरार रहेका ३ जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने काभ्रे जिल्ला चौरी पोखरी–२ घर भएका ४४ बर्षीय होम प्रसाद गौतम, भक्तपुर सानोठिमी बस्ने काभ्रे जिल्ला खोपासी–२ घर भएका ५३ बर्षीय केदार के.सी र काठमाडौँ बानेश्वर बस्ने काभ्रे चौरीपोखरी–९ घर भएका ४३ बर्षीय नवराज ढकाल रहेका छन् ।
उनीहरुलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले बैशाख १९ गते पक्राउ गरेको थियो । निजहरुमध्ये होमप्रसाद गौतम र केदार के.सी लाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ भने अर्का प्रतिबादी नवराज ढकालको हकमा निजको मुद्दा तामेलीमा रहेकोले आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर हनुमानढोकामा पठाइएको छ ।