घरमा राम्री श्रीमती र तीन जना लालाबाला हुंदाहुंदै पूर्वयुवराज पारस शाह थाइल्यान्डकी एक युवतीसंग सल्किएपछि तीन महिनादेखि परिवारसंग सम्पर्कमा छैनन् । बैंककमा प्रेमिकासित बस्ने गरेका पारसले केही समयअघि श्रीमती हिमानी त्यहां गएको बेला सम्पर्कमै आउन चाहेनन । एक सातासम्म पोईले नभेटेपछि हिमानी न्याउरो मुख लगाएर छोराछोरीलाई लिएर काठमाडौं फर्केको बताइन्छ ।
डेढ वर्षअघिदेखि पारस छोरीहरू पूर्णिका र कृतिकाका साथै छोरा हृदयेन्द्रलाई पनि पढाउन लगेर उतै बस्तै आएका छन् ।१० महिनादेखि उनी काठमाडौं फर्केका छैनन ।
आफूले प्रयोग गर्ने गरेको थाइल्यान्डको मोबाइल नम्बरसमेत परिवर्तन गरी उनले  बुबा ज्ञानेन्द्र, आमा कोमल र श्रीमतीसँग फोन सम्पर्क समेत टुटाएका छन् ।
आजको सौर्य दैनिकका अनुसार, पारसका साथीहरूले निर्मलनिवासमा खबर पुग्नेगरी उनी थाई युवतीको प्रेममा फसेको जानकारी गराएका छन् । विगतमा एकपटक निकै सुन्दरी ती युवती पारसको निम्तोमा काठमाडौंसमेत आएकी थिइन् ।
बुबा ज्ञानेन्द्रसितको खटपटका कारण पनि पारस काठमाडौंसित विरक्तिएको बताइन्छ ।

काठमाडौंमा हँदा नै पारस परिवर्तित राजनीतिक अवस्था र परिवारबाट पनि ‘फ्रस्टेड’ भएका थिए । आफूले गर्न खोजेका राम्रा काममा पनि बुबाले साथ नदिएको गुनासो उनले साथीहरूसित गर्ने गरेका थिए ।
स्रोतका अनुसार पारस युवालाई समेटेर नयाँ ढंगबाट अघि बढ्न चाहन्थे । उनी आफ्नो गलत छवि सुधार्न चाहन्थे । त्यसैले उनी एकरदुईपटक पत्नीले ‘हिमानी ट्रस्ट’का नामबाट सुरु गरेको सामाजिक कार्यमा समेत सहभागी भएका थिए । तर, बुबा ज्ञानेन्द्रले भने आफूलाई कहिल्यै विश्वास नगरेको भन्दै उनी खिन्न हुन थालेका थिए । इच्छा भएर पनि उनी बुबाकै कारण मिडियामा आउन पाएका थिएनन् ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको निधन भएपछि पारस श्रद्धाञ्जली दिन पशुपति आर्यघाट जान खोजेका थिए तर पूर्वराजा ज्ञानेन्द्रले ‘परिस्थिति अनुकूल नभएको’ भन्दै उनलाई त्यहाँ जानबाट रोके ।
मुलुकमा गणतन्त्र घोषणासँगै राजतन्त्रको अन्त्य भएपछि पारस विरक्तिन थालेका थिए ।

प्रतिक्रिया दिनुहोस !