काठमाडौं–तामाङ चलचित्र क्षेत्रमा पछिल्लो चलचित्रको रुपमा ‘म्हारमेन’ (दिप) को शुक्रबार आज विशेष प्रदर्शन गरिने भएको छ । आधा दशक वर्ष पहिले नै निर्माणमा गएको चलचित्र ढिलै भएपनि दर्शकमाझ आउन लागेको हो ।
मोम्स इन्टरनेसनल नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको विशेष शो भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा दिउँसो १२ बजे एक समारोहसँगै हुन लागेको मोम्स इन्टरनेसनल नेपालका अध्यक्ष रञ्जिता लामाले बताउनुभयो ।
नायिका समेत रहनुभएका लामाका अनुसार ‘म्हारमेन’ चलचित्र तामाङ समुदायको मौलिक भाषा, संस्कृति र सामाजिक विषयमा तयार पारिएको छ । मौलिक जीवनशैली, बिपद् र संघर्षका कथा चलचित्रले देखाउन खोजेको उहाँले स्पष्ट पार्नुभयो ।
तामाङ चलचित्र निर्माण सुस्ताइरहेको बेला दर्शकमाझ आउन लागेको यो चलचित्रले सिंगो तामाङ चलचित्र जगतमा उत्साह जगाउने दाबी गर्दै लामाले दर्शक, सञ्चारकर्मी, कलाकार तथा तामाङ चलचित्रप्रेमीलाई कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो ।
दोर्जे तामाङ र ऋतु राज पाख्रिनको लेखनमा अजय स्याङ्तान निर्देशित चलचित्र ‘म्हारमेन’ मा तामाङ चलचित्र जगतमा महानयकको उपमा पाएका अमीर दोङसँगै नायिकामा रन्जिता लामा ब्लोन स्वयम्, साथै सुष्मा मोक्तानको अभिनय रहेको छ ।
यस चलचित्रमा प्रतिभाशाली कलाकारहरु कुइसाङ रुम्बा, बद्री थिङ, राहुल मोक्तान, अनिता नेगी, पदम दोङ, अश्मान वाइबा लगायत कलाकारहरूको पनि सशक्त अभिनय रहेको जनाईएको छ ।
चलचित्रका कार्यकारी निर्माता सुनि लामा र विनोद लामा हुनुहुन्छ । चलचित्रमा बिशाल काल्तानको संगीत, पाश्र्व गायन काल्तान र शशी कला मोक्तानको रहेको छ । चलचित्रको छायांकन, सम्पादन तथा कलररिङ संयोजन बिक्रम मोक्तानले गर्नुभएको हो ।














