• लोक बहादुर लामा

काभ्रेपलाञ्चोक–शिक्षण पेशासँगै सामाजिक सेवामा सक्रिय शिक्षक क्षेत्र तामाङले रोशी गाउँपालिका–४ माटे स्थित नागदेवी माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

शिक्षक तथा समाजसेवी तामाङले जाडो मौसमलाई लक्षित गर्दै ट्र्याकसुट, स्वेटर, झोला लगायत आवश्यक शैक्षिक सामग्री सहयोग स्वरूप विद्यालयमा पुर्याउनुभएको हो । विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त सामग्री विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको थियो ।

विगत आधा दशकदेखि ग्रामीण भेगका विद्यालयहरूमा पुगेर निरन्तर रूपमा शैक्षिक सामग्री वितरण गर्दै आउनु भएका तामाङले यस वर्ष पनि आफ्नो सामाजिक अभियानलाई निरन्तरता दिनुभएको हो ।

शैक्षि सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि रोशी गाउँपालिका–४ का वडा अध्यक्ष तेजबहादुर मगरले शिक्षक क्षेत्र तामाङप्रति विशेष धन्यवाद व्यक्त गर्दै देश तथा समाज निर्माणमा शिक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो । उहाँले शिक्षकहरू राजनीतिक दलका कार्यकर्ता नभई यसरी नै समाज परिवर्तनका अग्रणी पात्रका रूपमा क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक दिलबहादुर लामाले ग्रामीण क्षेत्रका आर्थिक रूपमा कमजोर विद्यार्थी तथा अभिभावकहरूका लागि यस्ता सहयोगले शैक्षिक सुधारमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुभयो । अन्य दाताहरूको सहयोग न्यून रहेको अवस्थामा यसरी विद्यालयलाई सहयोग प्राप्त हुदा उत्साह जागेको बताउँदै उहाँले विद्यालयको तर्फबाट शिक्षक तामाङप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा आफ्ना धारणा राख्दै शिक्षक एवं समाजसेवी क्षेत्र तामाङले शिक्षकको दायित्व केवल कक्षा कोठामा मात्र सीमित नरही विद्यार्थीहरूलाई समाज, संस्कृति र सभ्यता प्रति सचेत गराउँदै सामाजिक सेवामा प्रेरित गर्नु पनि भएको धारणा राख्नुभयो ।

उहाँले आफ्नो तर्फबाट सहयोग प्राप्त गरेका विद्यार्थीहरू भविष्यमा समाज परिवर्तनको अभियानमा सक्रिय बनून् भन्ने अपेक्षा व्यक्त गर्नुभयो । विद्यार्थीहरू खुसी भएको देख्दा आफूलाई समेत सन्तोष प्राप्त भएको उहाँको भनाई छ ।

कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यार्थीहरूको तर्फबाट शिक्षक तामाङलाई खादा, माला तथा सम्मानपत्रका साथ सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !