काठमाडौं‐२८६१ सोनाम ल्होछारको अवसरमा राष्ट्रपति निवासमा मंगलबार पूजापाठ गरिएको छ । बिहान लामा गुरुको पूजा, ताम्बा र बोम्बोको विशेष सांस्कृतिक प्रस्तुती गरिएको हो । यसैज्ञmममा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहबीच सोनाम ल्होछारको शुभकामना दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछार जस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

विभिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा तामाङ जातिको ठुलो समुदाय रहेको र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवम् धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट र अत्यन्तै महत्वपूर्ण स्थान रहेको पौडेलको भनाइ थियो ।

राष्ट्रपति पौडेलले गणितीय ज्योतिष परम्परामा आधारित ल्होछार पर्व तामाङ संस्कृतिकै एक अभिन्न अङ्ग भएको बताउदै यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिबिम्बित गर्दछ भन्ने आफुले बुझेको स्पष्ट पार्नुभयो ।

 

पूजापाठ कार्यक्रममा ल्होछार मुल आयोजक समितिका संयोजक मोहन गोले तामाङले तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होछारका लागि पहिलोपटक राष्ट्रपति निवासमा यसखालको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरर्नुभयो ।

‘इतिहासमै पहिलोपटक राष्ट्रपति निवासमा यसखालको पूजापाठ गरेर अपनत्व लिनुभएको छ । यसले निरन्तरता पाउने आशा गरेको छु,’ तामाङ घेदुङका अध्यक्षसमेत रहेका गोलेले भनन्नुभयो ।

राष्ट्रपति कार्यालयले पहिलोपटक सोनाम ल्होछारको अवसरमा शुभकामना तथा पूजापाठ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, पूर्वमन्त्री तथा सांसदसहित तामाङ संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ल्होछार मुल आयोजक समितिले बुधबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा ल्होछार इभ मनाउने र बिहीबार वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ ।

चन्द्रपात्रोअनुसार माघ १७ गते ड्रुक अर्थात् ड्र्यागन वर्गको विदाई र डुल सर्प अर्थात वर्ग लाग्दैछ। ल्होछार तामाङ समुदायको नयाँ वर्ष हो । नयाँ वर्ष महत्वपूर्ण पर्वको रुपमा तामाङ समुदायले मंगलबारदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी देश तथा विदेशमा मनाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस !