बनेपा–बनेपा–काभ्रेपलाञ्चोक जिल्लाको बनेपा मध्यपहाडी क्षेत्रकै महत्वपूर्ण वयापारिक क्षेत्र मानिन्छ । यहाँ मुल राजधानीसँग नेपालको पूर्वी पहाडी तथा तराई क्षेत्र जोड्ने विपि राजमार्ग र उत्तरी तथा उत्तर पूर्वी क्षेत्रका जिल्लाबासी राजधानी आउजाउ गर्ने अरनिको राजमार्ग छ । यस कारण यातायात व्यवसायीको क्षेत्रमा यो क्षेत्रका व्यक्तिहरु पनि धेरै रहेका छन् ।
यसैबीच बागमती प्रदेश सरकार अन्र्तगत श्रम, रोजगार तथा यातायात मन्त्रालय मातहतको यातायात ब्यवस्था कार्यालयको उद्घाटन भएको छ । शनिबार आयोजित औपचारिक कार्यक्रमका बीच बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले यातायात ब्यवस्था कार्यालयको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले यातायात सम्बन्धी प्रशासनिक सेवाका लागि धुलो धुँवा, ट्राफिक जाम झेल्दै काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।
आफूले मन्त्रालय सम्हालेको एक वर्षको निरन्तर प्रयासपछि यो कार्य सफल भएको उहाँको भनाई छ । जि टु जि सम्झौता अनुसार यस कार्यालय सञ्चालन गर्न सहर्ष रुपमा स्थानका लागि साथ सहयोग गरेकोमा बनेपा नगरपालिकालाई धन्यवाद दिदै उहाँले यहाँको समग्र विकासमा आफ्नो पनि साथ रहने प्रतिवद्धता जनाउनुभयो ।
यो कार्यालय बनेपामा हुनु बनेपा तथा काभ्रेबासीको मात्र खुसीको कुरा नभई यो काभ्रे पूर्वका जिल्लाका यातायात व्यवसायी,सवारीसाधनकर्ता,प्रदेशका जनताकै लागि नै आवश्यक महसुस गरेर स्थापना गरिएको मन्त्री लम्सालले स्पष्ट पार्नुभयो ।
यस कार्यालयबाट प्रारम्भिक चरणमा सवारी दर्ता,नामसारी र नविकरण र प्रतिलिपि जारी, सवारी जाँचपास (प्राविधिक निरीक्षण र परीक्षण) सम्बन्धी कार्य, बाटो इजाजात (रुट परमिट) प्रदान र नविकरण सम्बन्धी सेवा प्रदान गरिनेछ भने सवारी चालक अनुमतीपत्र प्रदानसम्मको तयारी पनि थालिने जनाएको छ ।
मन्त्रालयका सचिव बलराम निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सांसदहरु कञ्चनचन्द्र बादे,रत्न ढकाल,रुकु चौलागाई, जिल्ला समन्वय समिति प्रमुख दिपक कुमार गौतम,मण्डन देउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाईबा,बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य,पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी,रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा,भुम्लु गाउँपालिकाका अध्यक्ष प्रम बहादुर भुजेल,प्रमुख जिल्ला अधिकारी सुर्य सेढाई,उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य,यातायात व्यवसायी संस्थाका प्रतिनिधि लगायत अतिथिको रुपमा उपस्थिित हुनुहुन्थ्यो ।