
खानीखोला–काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाकाले अन्य वडाहरुमा झैं वडा नं. ५ तालढुंगाका जेष्ठ नागरिकलाई पनि छाता र लौरो उपहार दिएको छ । यो वडा कार्यालयबाट पनि शनिबार जनप्रतिनिधिहरु लौरो र छाता बोकेर जनताको घरैमा पुगे । सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई हिँडडुल गर्न र पानीबाट जोगिन सहयोग होस् भनेर छाता उपहार दिईएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)को प्रमुख अतिथ्यतामा बृद्धबृद्धा एवं जेष्ठ नागरिकहरुलाई छाता र लौरो वितरण एवं असार १५ को अवसरमा दही चिउरा खाने कार्यक्रम सम्पन्न भएको हो । विकट भूगोल भएकाले हिडडुल गर्न सेवाग्राहीले सास्ती बेहोरेपछि वडामै पुगेर सेवा दिएको उहाँले जानकारी दिनुभयो ।
वडा नं. ५ पालिकाकाकै केन्द्र भएकोले भत्ता लिन आउन गाउँपालिकाको केन्द्रमै बैङ्क रहेकाले बैङ्कसम्म आउन अरु वडाको तुलनामा अलि सहज भएकोले सुरक्षा भत्ता भने बैंकबाटै वितरण थालिएको उहाँले स्पष्ट पर्नुभयो ।
बर्खाको समयमा घण्टौँ हिँडेर आउँदा सेवाग्राहीले सास्ती बेहोर्नुपरेकोे देखेपछि वडाबाट छाता र लौरो उपलब्ध गराउन थालेको उहाँले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता लिन आउने जाने बर्खामा काम लागोस् भनेर छाता र लौरो उपहार दिइएको अध्यक्ष थिङको भनाई छ ।
पहिलो चरणमा गाउँपालिकाको केन्द्रसम्म सहज यातायातको पँहुच नभएका वडास्तरबाट भत्ता वितरण सुरु गरेको हो । त्यसको सुरुवात वडा नं ४ बाट गरिएको छ ।
यातायात र बैङ्कसँगको पहुँच नभएका, वृद्धवृद्धा, अशक्त अपाङ्गता भएका नागरिकलाई पालिकाले दिएको सेवाबाट यहाँका नागरिक निक्कै खुसी देखिएका छन् । ७८ वर्षका बल बहादुर श्रेष्ठले सरकार भएको अनुभूति मिलेको बताउनुभयो ।
गाउँपालिकामा १ हजार १०७ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । वडा नं. ५ बाट १०९ जनाले सामाजिक सुरक्षा भत्ता लिदै आएको वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तानले जानकारी दिनुभयो ।
यस वडाबाट हरेक महिनाको एक चोटि नियमित ६० बर्ष माथीका जेष्ठ नागरिक घुम्ती स्वास्थ्य परिक्षण हुँदै आएको छ । सामाजिक सुरक्षा भत्ता कार्ड हरेक एक आर्थिक बर्षमा नवीकरण गर्न वडामै आएर गर्नु पर्छ तर सेवाग्राहीको समस्यलाई मध्यनजर गर्दै वडा नं. ५ ले घर घरमै गएर सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गर्ने वडा सचिव चण्डिका थापाले बताउनुभयो ।