
खानीखोला–काभ्रे जिल्लाको खानिखोला गाउँपालिकाले सोमबार १५ औँ गाउँसभा ८ औं बजेट कार्यक्रममार्फत ४९ करोड ४३ लाखको बजेट ल्याएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमका साथै बजेट समेत सार्वजनिक गरेको हो । गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ(छिन्ताङ)ले विभिन्न विषयगत एवं क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको हो भने नीति तथा कार्यक्रम कार्यन्वयनका लागि बजेट पनि ल्याएको हो ।
खानीखोलाले स्थानीय उत्पानको विकास र बजारीकरणमा जोड दिएको छ । स्थानीय खरिद बिक्री केन्द्र, कफी उत्पादन कृषिमा जोड ,जसको उत्पादन उसैलाई अनुदान पालिकाले कफीमा अनुदान दिदैं आएको छ । खानिखोलामा मासिक १० हजार धार्नी खुवा उत्पादन हुन्छ । अब खुवामा पनि अनुदान दिने सरकारको नीति तथा कार्यक्रममा पास भएको अध्यक्ष थिङ्ले बताउनु भयो ।
उहाँले सामाजिक विकास ,संस्कृति,युवा तथा खेलकुद,लैंगिक समानता र समाजिक समावेशीकरण,स्वास्थ्य,आर्थिक विकास,उद्योग तथा पर्यटन,कृषि तथा पशुपंक्षी,सहकारी,भौतिक पूर्वाधार विकास,सूचना तथा सञ्चार,न्याय कानुन तथा मानव अधिकार प्रवद्र्धन,सुशासन,सार्वजनिक सेवा तथा क्षमता विकास,वन,वातावरण,जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन,खानेपानी तथा सरसफाई जस्ता विषयगत एवं क्षेत्रगत नीति तथा कार्यक्रमहरु ल्याएको उल्लेख गर्दै सफल कार्यन्वयनमा लाग्ने बताउनुभयो ।
सभामा उपाध्यक्ष दोर्जेमान लामाले संघीय सरकारको वित्तिय समानीकरण अनुदान,संघीय सशर्त अनुदान,समपुरक अनुदान,विशेष अनुदान,प्रदेश सशर्त अनुदान,राजस्व बाँडफाँड,आन्तरिक आय लगायत गरी ४९ करोड ४३ लाख बजेट टेबल गर्नुभएको थियो ।
गाउँ अधिवेशनको अवसरमा खानिखोला गाउँपालिका सरकारले पालिका भित्रको २० जना सहिद परिवारलाई सम्मान गरेको छ । जनयुद्धको क्रममा गाउँपालिकाबाट सहिद भएकाहरुको परिवारलाई गाउँपालिकाले सम्मान गरिएको हो ।
गाउँपालिका अध्यक्ष ‘छिन्ताङ’ले सहिदहरुको रगत बलिदानको कारणले यो व्यवस्था ल्याएको स्मरण गर्दै उहाँहरुको परिवारलाई सम्मान गर्ने कुराले नै उहाँहरुप्रति उच्चा सम्मान हुने बताउनुभयो ।
सहिद भएकाहरुको परिवारलाई गाउँपालिकाले सम्मानपत्र र दोसल्लासहित सम्मान प्रदान गरेको हो ।