रोशी–काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका ‘अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको स्थानीय तह’ बनेको छ । गाउँपालिका क्षेत्रका सबै बालबालिकाहरु निशुल्क रुपमा विद्यालय शिक्षाको पहुंचमा जोडिएपछि बिहीबार एक औपचारिक कार्यक्रमका बीच गाँउपालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा गरिएको हो ।

आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले गरेको सर्वेक्षणमा सबै गाउँ, वडा, बस्ती र क्षेत्रहरूमा ६ हजार ७५२ घरधुरी र ४ देखि १३ वर्ष सम्मका ५ हजार ७०४ बालबालिकाहरू देखिएको तथा सत प्रतिशत बालबालिकाहरु विद्यालयमा भर्ना भएको,सबै वडाहरु अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा समेत भइसकेकोले गाउँ शिक्षा समितिको बुधबारको निर्णय अनुसार बिहीबारबाट लागु हुने गरी रोशी गाउँपालिका,काभ्रेपलाञ्चोकलाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा गर्न रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास निर्देशनालय हेटौंडा,मकवानपुरका महानिर्देशक दिपेन्द्र सुवेदी समक्ष प्रस्ताव गर्नुभएको थियो ।

त्यसपछि प्रमुख अतिथि एवं महानिर्देशक सुवेदीले रोशी गाउँपालिका,काभ्रेपलाञ्चोकलाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह’ घोषणा गर्नुभएको हो ।

महानिर्देशक सुवेदीले गाउँपालिकाको सक्षम नेतृत्वका कारण रोशी गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा गर्न सफल भएको भन्दै गाउँपालिका नेतृत्व तथा गाउँ कार्यपालिकाप्रति खुसी व्यक्त गर्नुभयो ।

उहाँले संविधानले सुनिश्चित गरेको शिक्षा सम्बन्धी अधिकारलाई पालिकाले सफल कार्यन्वयन गर्न सकेको भन्दै खुसी व्यक्त गर्नुभएको हो । बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने दायित्व पूरा गरेको उल्लेख गर्दै अब शैक्षिक गुणस्तर अभिवृद्धिमा पनि पालिका सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

विशेष अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई धुलिखेलका प्रमुख देबका ढकालले संविधान अनुसार नेपाल सरकार,प्रदेश सरकारको नीति कार्यन्वयनमा सक्रियता देखाउने क्रममा रोशी गाउँपालिकाले शिक्षा क्षेत्रलाई महत्वपूर्ण स्थान दिएको पाएको उल्लेख गर्नुभयो । अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा गर्न सफल हुनुमा यहि तदारुकताको प्रतिफल रहेको उहाँको भनाई छ ।

गाउँपालिका अध्यक्ष दिनेश लामाले अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा कार्यन्वयनमा शंका गर्ने ठाउँ नरहेको बताउँदै कुनै पनि हालतमा सफल कार्यन्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

गाउँपालिकाका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको उल्लेख गर्दै लामाले अब विद्यालयले विद्यार्थीलाई शिक्षा दिने नाममा कुनै पनि शुल्क लिएको सुन्न नपर्ने स्थिति निर्माण भएको जानकारी दिनुभयो ।

विद्यालय शिक्षा सुधार तथा गुणस्तरीयताका लागि स्थानीय तह,प्रदेश सरकार तथा शिक्षा निर्देशनालयको सहकार्य हुदै आएको उहाँले बताउनुभयो । यसै क्रममा यसअघि रोशी माविलाई प्रदेश सरकारकाबाट एउटा बस प्राप्त भएको, यो पटक एउटै पालिकाका विद्यालयका लागि दुई वटा बसका लागि बजेट कार्यक्रम परेकोमा पालिका अध्यक्ष लामाले खुसी व्यक्त गर्नुभयो ।

शिक्षाको विकासका क्रममा स्थानीय विद्यालय एकीकरणका साथै शिक्षक दरवन्दी थप्न पनि स्थानीय सरकार तयार रहेको अध्यक्ष लामाले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइवाले संविधानले सुनिश्चित गरेको बालबालिकाको शैक्षिक अधिकार दिलाउन गाउँपालिका सदैब क्रियाशिल रहने बताउनुभयो । सीमित स्रोत जस्ता चुनौतीका बीच पनि शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्ने क्रममा गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको गाउँपालिका घोषणा गर्न सफल भएको उहाँको धारणा छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङले गाउँपालिका,गाउँ शिक्षा समिति,गाउँ कार्यपालिका,जनप्रतिनिधि,विद्यालय व्यवस्थापन समिति,शिक्षक,विद्यार्थी अभिभावक सबैको सहयोगबाट नै जिल्लाको बेथानचोक गाउँपालिका पछि रोशी गाउँपालिकालाई दोस्रो स्थानीय तहको रुपमा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको गाउँपालिका घोषणा गर्न सफल भएको भन्दै सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

यो महत्वपूर्ण अभियानको सफल कार्यन्वयनमा पनि सबैको अझै उत्तिकै साथ आवश्यक रहने उहाँले बताउनुभयो ।

घोषणा कार्यक्रममा उपस्थित स्थानीय वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु,,सामुदायिक विद्यालय महासंघ,विद्यालय व्यवस्थापन समिति,पत्रकार,राजनीतिक दलका प्रतिनिधि लगायतले यो अभियानमा साथ रहने भन्दै आ–आफ्नो तर्फबाट ऐक्यबद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !