काठमाडौं–भोजपुर जिल्लाको बहुआयामिक विषय समेटिएको महाग्रन्थ ‘भोजपुर दर्पण’का सम्बन्धमा विमर्श गर्नुका साथै उक्त ग्रन्थमा समाविष्ट लेखरचनाका लेखक–स्रष्टाहरूलाई ‘मातृभूमि सम्मान’द्वारा सम्मानित गरिएको छ ।

भोजपुर मातृभूमि बौद्ध–जोरपाटी एकता समाज, काठमाडौंद्धारा शनिबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको दधिकोट, गाम्चास्थित दरबार रिसोर्टमा भव्य समारोहको आयोजना गरी विमर्श तथा सम्मान गरिएको हो ।

समारोहका प्रमुख अतिथि भोजपुर बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख एवं अग्रज शिक्षासेवी केदारनाथ श्रेष्ठले लेखकहरूलाई सम्मानपत्र अर्पण गरी सम्मान गर्नुभएको थियो ।

समारोहमा प्रा.डा. प्रेमकुमार खत्री, प्रा.डा. नृसिंहकुमार खत्री, प्रा.डा. ध्यानेन्द्रबहादुर राई, प्रा.डा.गोविन्दमानसिंह कार्की, प्रा.डा. माधवप्रसाद दाहाल, परशुराम तामाङ, कमलजंग राई, केशव पराजुली, गणेश बज्राचार्य, रमेशकुमार राई, डा. रोहितकुमार श्रेष्ठ, डा. रुद्र सुवाल, सुशील कोइराला, गणेश श्रेष्ठ, जयन्तीदेवी राई, पाविहाङ राई, डा. विप्लव ढकाल सम्मानित हुनुभयो ।

त्यस्तै  स्रष्टा  श्याम तमोट, बुलु मुकारुङ, गोविन्द बस्नेत, शुभ मुकारुङ, केदारनाथ श्रेष्ठ, राम तामाङ, डा.श्याम नेपाल, कैलाश राई, पदम राई, प्रकाश राई ‘सर्वहारा’, रवीन्द्र अधिकारी, सुरेश चापागाई, काजीमान थापाका साथै ग्रन्थका सम्पादकद्वय शशी लुमुम्बू र गोविन्द बस्नेत पनि  ‘मातृभूमि सम्मान’द्वारा सम्मानित हुनुभएको हो ।

समारोहमा ग्रन्थ प्रकाशनका लागि आर्थिक सहयोग गर्ने पौवादुङ्मा गाउँपालिका र साल्पासिलिछो गाउँपालिका, भोजपुरका साथै विभिन्न सहयोगी व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो । उक्त समारोहमा उपस्थित हुन असमर्थ लेखक तथा पालिकाहरूलाई शीघ्र एक समारोहको आयोजना गरी सम्मान गरिने संस्थाका अध्यक्ष गोविन्द बस्नेतले बताउनुभयो ।

उक्त अवसरमा बुलु मुकारुङद्वारा लिखित शिक्षासेवी तथा लेखक केदारनाथ श्रेष्ठ र लीलादेवी श्रेष्ठको जीवनीसम्बन्धी पुस्तक ‘प्रेम, त्याग र समर्पण’को समेत लोकार्पण गरिएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री शंकरप्रसाद कोइराला, कृपासुर शेर्पा, सुदन किराती, राष्ट्रिय सभा सांसद जयन्ती राई, अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी लागयतको आतिथ्यता रहेको थियो ।

समाजसेवी राम तामाङले प्रायोजन गर्नुभएको कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द बस्नेतको सभापतित्व,कोषाध्यक्ष सरस्वती प्रधानको स्वागत मन्तव्य तथा सचिव लीलाबहादुर तामाङको सहजीकरणमा भएको हो ।

विमर्श तथा सम्मान कार्यक्रमपछि ‘मातृभूमि सद्भाव वनभोज’ कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष गोविन्द बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !