पोखरा–कास्कीको पोखरा १३,संगम टोलस्थित तामाङ बौद्ध सेवा समितिद्धारा सञ्चालित कोकोम्हेन्दो पुस्तकालाई शनिबार विभिन्न पुस्तक हस्तान्तरण गरिएको छ । प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले विभिन्न दाताहरुबाट संकलित पुस्तक पुस्तकालयका संयोजक दिपक बाईवा तामाङलाई हस्तान्तरण गर्नुभएको हो ।
प्रमुख अतिथि गुरुङले पुस्तकालय प्रतिष्ठानको कार्यक्षेत्र भित्र पर्ने भएकाले सक्दो सहयोग गर्ने बताउनुभयो । पछिल्लो समय युवापुस्तामा आफ्नो भाषा,संस्कार संस्कृति र परम्पराको बारे अध्ययन अनुसन्धानमा अत्यन्तै कम रुचि देखिएको उल्लेख गर्दै उहाँले पठन संस्कृतिको विकासका लागि पुस्तकालय महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
पुस्तकभन्दा मोबाइल फोन र अन्य ग्याजेटको दुरुपयोगले पश्चिमा संस्कारको पछि होडका साथ लागिपरेको र यसले पुस्तक अध्ययनको संस्कारमा एकदमै ह्रास आएको तितो यथार्थ व्यक्त गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
समयको माग संगै अब फेरि पुस्तकालयलाई पुनः सुचारु गर्ने उद्देश्यहरु अघि बढ्ने पुस्तकालयका संयोजक दिपक वाइबा तामाङले बताउनुभयो । विद्यालयमा गएर औपचारिक शिक्षा लिनुलाई मात्र पढाई भन्ने मानसिकता रहेको र त्यसलाई चिर्न पुस्तकालयले मद्दत पुग्ने उहाँको भनाई छ ।
यो बर्ष भित्रमा यस पुस्तकालयमा १ हजार पुस्तक पुर्याउने लक्ष्य राखेको जनाउँदै उहाँले पुस्तकालयलाई तामाङ अध्ययन केन्द्रको रुपमा विकास गर्ने सोच रहेको पनि बताउनुभयो ।
२०६९ असोजमा तत्कालिन जिल्ला उपाध्यक्ष मन बहादुर गुरुङ र सदस्य दिपक वाईबा तामाङको पहलमा आदिवासी जनजाति जिल्ला समन्वय समिति जिविस कास्की, प्रा.डा. तारा बरालबाट १ सय थान पुस्तक, धनराज डिम्डुङ तामाङ, ओम स्याङ्बो तामाङ, कुमार योञ्जन तामाङ, आश बहादुर लोप्चन तामाङ, टेक योञ्जन तामाङ, प्रताप बहादुर वाईबा तामाङ, सोनु योञ्जन तामाङ, शान्ति गोम्देन (सविना) तामाङ, मुना स्याङ्बो तामाङ, आस्था वाईबा तामाङ, सोनाल लोप्चन तामाङ, विजय स्याङ्बो तामाङ, रवी योञ्जन तामाङ, किरण गुरुङ, धनजीत वाईबा तामाङ, हिमाल राना मगर, राम ब्लोन तामाङ, निरा लामा स्याङ्दान तामाङ लगायतले पुस्तक खरिदका लागि आर्थिक सहयोग गर्नुभएको थियो ।
२०६० सालमा कृष्ण लोप्चन तामाङको संयोजकत्वमा कोकोम्हेन्दो पुस्तकालयको स्थापना भएको थियो । विविध कारणवश लामो समयदेखि संचालन हुन नसकिरहेको अवस्थामा पछिल्लो समय यसको सञ्चालनमा चासो देखिएको हो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ पुर्व केन्द्रिय कार्यवाहका अध्यक्ष कुम बहादुर योञ्जन तामाङ, नेपाल तामाङ घेदुङ पुर्व केन्द्रिय सल्लाहकार प्रताप वाईबा तामाङ, नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष राम बहादुर ब्लोन (शिवु) तामाङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् कास्कीका उपाध्यक्ष मिनमाया डुम्जन तामाङ, बौद्ध सेवा समितिका अध्यक्ष विष्णु तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
स्वागत मन्तव्य राख्दै लक्ष्मी ब्लोन तामाङले पुस्तकालय पुनः सुचारु अभियानमा जोडिनुभएका व्यक्तित्वहरुप्रति खुसी व्यक्त गर्नुभएको थियो । पुस्तकालयका सह–संयोजक धन राज डिम्डुङ तामाङले अब व्यवस्थित ढंगले पुस्तकालय सञ्चालनको तयारी अघि बढेको बताउनुभयो । यसै क्रममा आइतबार विभिन्न विषयका पुस्तकहरु पुस्तकालयले प्राप्त गरेको उहाँले स्पष्ट पार्नुभयो ।