खानीखोला–काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका वडा नं. २ फलामेटारका ५२ घरधुरीमा खानेपानी पहुँच जोडिएसँगै यहाँ सञ्चालित बृहत खानेपानी आयोजनाको उद्घाटन गरिएको छ ।

गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर थिङ (छिन्ताङ)ले हालै आयोजित एक कार्यक्रमका बीच पलान्चोक मुहान फलामेटार बृहत खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो ।

पनौती देखी सिमेन्ट बोकेर खानेपानीको योजना निर्माण गरेको बताउँदै अध्यक्ष थिङले स्थानीय जनता,खानेपानीको ठेक्का सम्झौता गरी समयमा नै सम्पन्न गर्ने श्रीजना कन्स्ट्रक्सनलाई धन्यवाद व्यक्त गर्नुभयो । अबका दिनमा राम्रो काम गर्नेलाई प्रोत्साहन सहित सम्मान गर्ने परिपाटी गाउँपालिका सरकारले बसाल्ने उहाँको भनाई छ ।

अध्यक्ष थिङले उपभोक्ता समिति गठन गरि यो खानेपानी आयोजनालाई नियमित रुपमा सञ्चालन गर्न वडाबासीहरुलाई अनुरोध गर्नुभयो ।
खानीखोलाका सातै वडामा ‘एक घर एक धारा’ बनाउने पालिका सरकारको नीति अनुसार अघि बढ्ने अध्यक्ष थिङको भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले मानविय जीवनमा पानीको आवश्यकता महत्वपूर्ण रहेको जनाउँदै यो अयोजना समय सिमा भन्दा अघि काम सम्पन्न गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

वडा न.२ का अध्यक्ष दसरथ थिङले खानेपानी घर घर सम्म पुगेकोमा स्थानीयहरु हर्षित भएको बताउनुभयो ।

वागमती प्रदेश सरकारको विशेष अनुदान स्वरुप १ करोड बजेट रहेकोमा श्रीजना कन्स्ट्रक्सनले ५८ लाखमा ठेक्का लिई काम सम्पन्न गरेको हो । समय सकिनु २० दिन अगावै कन्स्ट्रक्सनले कार्य सम्पन्न गरेको प्रो. वावुलाल घलानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !