महाभारत–काभ्रेको डाँडापारी क्षेत्रको महाभारत गाउँपालिका नेपाल विद्युत प्राधिकरणको मुख्य प्रसारण लाइनको विजुलीबाट झिलिमिली भएको छ । गाउँपालिकाका ३४ सय १७ घर धुरी विजुलीको पहुँचसँग जोडिएको हो ।
उर्जा मन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा बिहीबार आयोजित एक औपचारीक कार्यक्रमका बीच मन्त्री बस्नेत,नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले संयुक्त रुपमा विद्यतीकरण सेवा प्रारम्भ घोषणा गर्नुभयो ।
मन्त्री बस्नेतले भौगोलिक अवस्थिती,भौतिक विकासका पूर्वाधारको दृष्टिले यसअघि विकट भनिएको डाँडापारी महाभारतबासीको जनजीविका उकास्न विद्युतको पहुँचले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । गाउँपालिकाका जनताले विद्युतको सेवामार्फत बहुआयामिक फाइदाहरु लिन सकिने उहाँको भनाई छ ।
२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित गाउँपालिका नेतृत्वको पहलकमदीले केन्द्रीय प्रसारण लाईनको बिस्तार गरिएपछि यो सफलता हाँसील भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।
२०७४ को स्थानीय तहको नेतृत्वमा निर्वाचित भएदेखिनै महाभारतलाई केन्द्रीय प्रसारण लाईनको पहुँमा जोड्न अध्यक्ष जिम्बाले गरेको अहोरात्र प्रयास स्थानीय तहको सरकारको दोस्रो कार्यकालको प्रारम्भमा सफल भएको हो ।
संसार विकासको नयाँ युगमा प्रवेश गर्दा समेत आफ्ना गाउँपालिकाका नागरिकहरु अन्धकारमा बस्न बाध्य भएको अवस्थाबाट मुक्ति पाएको उहाँको भनाई छ ।
राज्य पुर्नसंरचना तथा संघीय व्यवस्थाको उपलब्धीको रुपमा गाउँगाउँमा विकासको अभियान फैलिएको जनाउँदै उहाँले यस अनुसार यसरीनै महाभारतको नयाँ मुहार फेर्न सफल भएको धारणा व्यक्त गर्नुभयो ।
पहिलो चरणमा १ अर्ब ५६ करोड बजेट विनियोजन भएकोमा ८३ करोड रुपैया महाभारत र खानीखोलाका लागि ठेक्का सम्झौता भएको थियो । यस मध्ये करीब ५० करोडको खर्चमा महाभारतको घरघरमा विद्युत्तिकरण सफल भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसमा गाउँपालिकाले घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार अनुदान उपलब्ध गराएको अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।
यसअघि टुकी,लघु जलविद्युत,सोलार बत्तीको प्रयोग मात्रै हुने गरेको महाभारतमा केन्द्रिय प्रसारण लाईनको विस्तार भएपछि घरेलु,साना,मझौलादेखि ठूला उद्योग कलकारखाना संचालन गर्न समेत सकिने भएको छ ।