photo : Motiram Timalsina

धुलिखेल–नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटिको ११ औं अधिवेशन सोमबार धुलिखेलमा शुरु भएको छ । अधिवेशनको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो ।

अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश र जनताको समृद्धिका लागि एक भएर लाग्न जिल्लाका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

उहाँले देश विकास र निर्माणका लागि तीन तहकै सरकारमा एकल बहुमत ल्याउन मिसन ८४ लाई सशक्त बनाउन पार्टीका सबै पंक्ती जुटेर लाग्न निर्देशन दिनुभएको हो ।

जिल्ला अधिवेशनको सन्दर्भदेखि आगामी निर्वाचनसम्मलाई टिकट बाँड्ने होडबाजी,पार्टीभित्र दाउपेच,गुटबन्दीको प्रयास भए त्यो पार्टीका लागि सह्य नहुने उहाँको भनाई थियो ।

अध्यक्ष ओलीले मजबुत पार्टी संगठन बनाउँदै जनपक्षिय काम गर्ने चरित्र निर्माण जिल्ला जिल्ला गाउँगाउँका नेता कार्यकर्ताहरुमा हुनुपर्ने पनि बताउनुभयो ।

उहाँले जिल्लाको नेतृत्व चयनमा हस्तक्षेप नगर्न अन्य नेताहरुलाई निर्देशन दिनुहुदै यस्तो बताउनुभएको हो । ओलीले नेतृत्व सर्वसम्वत गर्न यदि सर्वसम्वत नभए स्वस्थ प्रतिस्पर्धा गर्न पनि भन्नुभयो ।

अध्यक्ष पदका लागि हालका उपाध्यक्ष चन्द्र लामा र सचिव राजन भुर्तेलको चर्चा रहेको छ ।

पार्टी संघीय अध्यक्ष ओलीले बिना हस्तक्षेत्र सकेसम्म सर्बसम्मत नेतृत्वको चयनका लागि निर्देशन दिएपछि सर्वसम्मत नेतृत्व चयनको वातावरण बन्न थप सहज हुने अपेक्षा गरिएको छ ।

जिल्ला अधिबेशन अन्र्तगत बन्द सत्र मंगलबार विहान ९ बजेबाट धुलिखेल नगरपालिकाको सभा हलमा हुनेछ । केन्द्रिय कमिटीका नेताहरुको आतिथ्यता,प्रतिनिधि,पर्यवेशक्षकहरु सहभागि हुने बन्द सत्रमा पार्टीको राजनीतिक,सांगठनिक प्रतिवेदनहरु प्रस्तुती र छलफल हुने एमाले काभ्रेले जनाएको छ ।

प्रतिवेदनहरु पास भएपछि केन्द्रिय निर्वाचन आयोगबाट खटिएको टोली र जिल्ला कमिटीले सिफारिस गरेको टिमले नेतृत्व चयनका लागि निर्वाचन प्रकृया शुरु गर्नेछ ।

एघारौं जिल्ला अधिवेशनमा ६ सय ९२ प्रतिनिधी सहभागि हुदैछन् ।

एमालेले १० औ जिल्ला अधिबेशनबाट शुरु गरेको हाईटेक शैलीको इलेक्ट्रिक भोटिङ मेशिनको प्रयोग यो पटक पनि गर्ने तयारी गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस !