काठमाडौं–तामाङ चलचित्र संघ नेपालले आफ्नो १६ औं स्थापना दिवस मनाएको छ । २०६५ सालमा स्थापना भएको संघले शुभकामना आदानप्रदान,सम्मानका साथै चलचित्र विकास बोर्डसँगको सहकार्यमा निर्मित तामाङ छाटो चलचित्र ‘ब्रेल्साङ’को विशेष प्रदर्शन कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको हो ।

चलचित्र विकास बोर्डको हल चावहिलमा शनिबार आयोजित वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हित बहादुर तामाङले चलचित्र भाषा,संस्कृतिको संञ्चार,प्रवद्र्धन र विकासका लागि महत्वपूर्ण रहेको बताउनुभयो । चलचित्र मनोरञ्जनको साधन मात्र नभएको उहाँको धारणा छ ।

नेपालका हलहरुमा नेपाली खस भाषा,विभिन्न देश तथा जातजातिका भाषाका चलचित्रहरु लाग्ने गरेकोमा तामाङ मातृ भाषाका चलचित्रप्रति तामाङ समुदायले गर्व महसुस गर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,–‘खस भाषामा बनेका चलचित्रहरु हेर्दा हामीलाई खास लाग्दैन,ति भाषा बोल्नेहरुले गर्व महसुस गर्दैनन् किनकी उनिहरुको भाषा राज्यले प्रयोगमा ल्याएको छ,शव्दकोषहरु बनाउने,विद्यालयमा पढाउने गरेर संरक्षण गरेको छ तर तामाङ भाषा हिजो बहिस्करणमा थियो त्यसकारण हाम्रो भाषाको चलचित्रप्रति हामी छुट्टै गर्व गर्छौं ।’

बागमती प्रदेश सरकारले तामाङ भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिई कार्यन्वयनको चरणमा प्रवेश गरेको जनाउँदै यसले पनि भाषा,संस्कृति संरक्षणमा काम गर्ने कलाकार,अभियन्ता तथा आम समुदायमा खुसी जगाएको बताउनुभयो । मन्त्री तामाङले कला,भाषा,संस्कृतिमाथि क्रियाशिल तामाङ चलचित्रकर्मीहरुलाई सरकारको तर्फबाट गर्न सकिने सहयोग रहने प्रतिवद्धता पनि जनाउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि समाजसेवी एवं नेपाली कांग्रेसका संघीय सदस्य गणेश लामाले सरकारमा पुगेका हाम्रा प्रतिनिधिहरुले समुदायको हितमा काम गरेर देखाउन सक्नुपर्ने बताउनुभयो । भाषण गर्दै हिड्नेभन्दा परिणाममूखि काममा जोड दिनुपर्ने उहाँको भनाई थियो ।

तामाङ चलचित्र संघका प्रमुख संरक्षक सल्लाहकार एवं रोशी गाउँपालिकाका पूर्व अध्यक्ष डिबी मोक्तानले चलचित्रकर्मीहरुको हितका लागि एकतामा जोड दिनुभयो । कला,संस्कृति,भाषा संरक्षण गर्ने अभियानमा समर्पित कलाकारहरुको पेशागत हक,हितको सुरक्षामा सकारात्मक परिणाम निकाल्न कोही पनि विभाजित नभई अघि बढ्नुपर्ने उहाँको धारणा थियो ।

वार्षिक उत्सवको अवसरमा जयनकुमार मोक्तान र रञ्जिता ब्लोनलाई ‘दोस्रो सेमरी छोरङान पदक सम्मान’ प्रदान गरिएको छ ।

तामाङ चलचित्र कला,सञ्चार,भेषभुषा,भाषा,संस्कृति प्रवद्र्धनमा खेलेको भुमिकाको सम्मान गर्दै मोक्तान र ब्लोनलाई पच्चीस–पच्चीस हजार नगद,सम्मानपत्र,खादासहित दोस्रो सेमरी छोरङान पदक सम्मान प्रदान गरिएको हो ।

यसैगरी सेमरी छोरङान स्रष्टा सम्मान वरिष्ठ चलचित्र निर्देशक सञ्जय लामा बल,संगीतकार आगा लामा,मिलन स्याङतान र विधागत सम्मान गायिका जितु लोप्चन र मिस तामाङ २०२४ विजेता रिया लामालाई प्रदान गरिएको छ ।

कार्यक्रमका अतिथि नेपाल तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविणकुमार वल,तामाङ पत्रकार संघका महासचिव तिर्थमान वल,आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पूर्खाजित राई लगायतले सम्मानित सबैमा बधाई ज्ञापन गर्नुभयो । उहाँहरुले तामाङ मौलिकताका विषयबस्तुमाथि अझ धेरै चलचित्रहरु बन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा छोटो चलचित्र ब्रेल्साङ टिमका सदस्यहरु,विभिन्न व्यक्तित्व,संघसंस्थाका प्रतिनिधिहरुलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।

समारोहको अध्यक्षता गर्नुभएका तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानले आफ्नो दोस्रो कार्यकालमा यस खालको ऐतिहासीक कार्यक्रमहरु गर्न सफल भएको बताउनुभयो । अग्रज कलाकार जयनन्द लामाको व्यक्तित्व,उहाँको योगदानबाट भावि पुस्ताले केहि सिक्न प्रेरणा जगाउन लामाद्धारा निर्देशित पहिलो तामाङ चलचित्र सेमरी छोरङान नामबाट अवार्ड,पदक तथा सम्मान,कार्यशाला गोष्ठी,संघको कार्ययोजनाअनुसार दोस्रो पटक छोटो चलचित्र ब्रेल्साङ निर्माण जस्ता रचनात्मक कार्यक्रहरु गर्न सफल भएको उहाँको भनाई छ ।

कलाकारहरुको नृत्यहरुले निकै मनोरञ्जनात्मक एवं कलामय बनाएको कार्यक्रमको सहजिकरण संघका महिला उपाध्यक्ष सुनिता लुङबा,सचिव उत्तर लामाले गर्नुभएको थियो ।

औपचारिक कार्यक्रम समापन पश्चात कुमार मोक्तानको निर्देशन,कुइसाङ रुम्बाको सहनिर्देशनमा बनेको छोटो तामाङ चलचित्र ‘ब्रेल्साङ’ प्रदर्शन गरिएको थियो ।

मोक्तानको यस अघिको कार्यकालमा पनि तत्कालिन रोशी गाउँपालिकाको सहयोगमा छोटो चलचित्र ‘सामाजिक सञ्जाल’ निर्माण तथा प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !