स्थानीय उत्पादन खरिद विक्री केन्द्रको उद्घाटन

तालढुंगा–काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकाको प्रशासनिक भवन र जनमुक्ति मार्ग अन्र्तगत तालढुंगा–सिक्रेदोभान सडक खण्डको शुक्रबार शिलान्यास गरिएको छ । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले एक समारोहका बीच प्रशासनिक भवन र जनमुक्ति मार्गको उक्त खण्डको शिलान्यास गर्नुभएको हो ।

कार्यक्रममा मुख्यमन्त्री जमकट्टेलले स्थानीय सरकार जनतालाई सेवा दिने सरकार र प्रदेश सरकार विकास गर्ने सरकार भएको उल्लेख गर्नुहुदै काभ्रेको विकट क्षेत्रको रुपमा रहेको खानीखोला र महाभारतको विकासमा प्रदेश सरकार साथमा रहेको बताउनुभयो ।

तत्कालिन जनयुद्धको समयमा बलिदान दिएका शहिद,मुलुकको व्यवस्था परिवर्तनमा भुमिका खेलेका जनमुक्ति सेनाको सम्झना र सम्मान स्वरुप जनमुक्ति मार्ग निर्माण थालिएको स्पष्ट पार्नुहुदै उहाँले यसले डाँडापारी क्षेत्रको विकासमा महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो । महाभारत र खानीखोलाका जनतालाई बजारसँग जोड्न यो मार्ग आवश्यक रहेको उहाँको भनाई छ ।

संघीय सरकार नीति निर्माण गर्ने सरकार मात्र भएको जनाउँदै मुख्यमन्त्री जमकट्टेलले संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको तीन सय सडकहरुको स्तर उन्नतीमा लाग्ने, यसमा खोपासी ताल्ढुंगा सडक पनि प्रदेश सरकारले बनाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले यो क्षेत्रलाई जिल्ला सदरमुकाम धुलिखेल तथा बनेपासँग जोड्न महत्वपूर्ण मानिएको खोपासी ताल्ढुंगा सडक स्तर उन्नतीका लागि समेत प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा बजेटको व्यवस्था गर्ने बताउनुभएको हो ।

१० करोड १९ लाख ८० हजार बजेटको जनमुक्ति मार्ग अन्र्तगत तालढुंगा–सिक्रेदोभान सडक खण्ड २०८३ जेठ ८ गतेसम्म कालोपत्रे तथा ढलान कार्य सम्पन्न गर्ने लक्ष लिईएको छ ।

७ करोड २८ लाख १५ हजार बजेटमा ठेक्का लागेको गाउँपालिकाको प्रशासनिक भवन वडा नं. ५ तालढुंगामा बन्नेछ । भवन २०८३ असार १५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष लिईएको छ ।

शिलान्यास कार्यक्रममा बोल्नुहुदै पूर्वराज्यमन्त्री एवं वर्तमान प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ(लालध्वज),प्रदेशसभा सदस्य प्रदेशका पूर्व मन्त्री तिर्थ लामा,महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले प्रदेश,संघ र स्थानीय सरकार मिलेर नै डाँडापारी क्षेत्रको विकास भईरहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ(छिन्ताङ) ले आफूहरुले विकट डाँडापारीको परम्परागत मान्यता भत्काउन चाहेको बताउनुभयो । हिजो विकट भनेर उपमा पाएको यो गाउँपालिकामा सडक पूर्वाधारको विकास,स्थानीय उत्पादन बृद्धि र बजारीकरण,स्वास्थ्य,शिक्षा,खानेपानी लगायतको क्षेत्रमा परवर्तन आएकोले अब त्यो उपमा तोडिएको बताउनुभयो ।

खानीखोलाको समृद्धिका लागि जनमुक्ति मार्ग निर्माण,स्थानीय उत्पादन प्रवद्र्धन कार्यक्रम अन्तर्गत अनुदान,स्थानीय उत्पादन खरिद विक्रीको प्रारम्भ,तालढुंगा एकिकृत नमुना बस्ती विकास कार्यक्रम,अस्पताल निर्माण,करिडोर निर्माण लगायतका कामहरु अघि बढेको अध्यक्ष थिङको भनाई छ ।

‘स्थानीय जनतालाई विारामी परेमा एम्बुलेन्समार्फत तत्काल उपचारमा लैजान,जनतालाई व्यापारिक रुपमा शहरको पहुँच तथा हाईसँग जोड्न जनमुक्ति मार्ग निर्माणको सोचले सकार रुप पाउनेछ ।,उहाँले भन्नुभयो–‘तालढुंगा सिक्रेदोभान ४ किलोमिटर खण्ड ठेक्का लागेर निर्माणको शिलान्यास गरिएको छ,सिक्रेदोभान झुरझुरेसम्मको १२ किलोमिटर ४४ करोड ठेक्का लागेर शिलान्यासको चरणमा छ,,तालढुंगादेखि गोकुले खण्ड ठेक्काको प्रक्रियामा रहेको छ, विपि हाईवे र मदनभण्डारी हाईवेसँग जोड्ने महाभारतको धेरै र खानीखोलाको आंशिक गरी डाँडापारीको ठुलो भुगोल समेट्छ,यसबाट यहाँको जनजीवनमा निकै फेरबदल ल्याउँछ ।’

शुक्रबार नै मुख्यमन्त्री जमकट्टेलले तालढुंगा बजारमा स्थानीय उत्पादन खरिद विक्री केन्द्रको पनि उद्घाटन गर्नुभयो । यहाँ गाउँपालिकामार्फत खानीखोला बुउद्धेश्यीय सहकारी संस्थाले स्थानीय किसानहरुले उत्पादन गरेका उत्पादनहरुको अधिकतम र न्युनतम मुल्य निर्धारण गरी विक्री वितरण गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !