काठमाडौं–तामाङहरुको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिले घेदुङ सभाहल बौद्ध चुच्चेपाटीमा विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ६८ औं स्थापना दिवस मनाएको छ ।

दिप प्रज्वलन,शुभकामना आदन–प्रदान, सम्मान लगायतका कार्यक्रम गरी घेदुङले शनिबार आफ्नो स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा घेदुङ सभाहलका लागि १ लाख ६ हजार बराबरको साउन्ड सिस्टम सहयोग गर्नुहुने विजय लामा,मञ्चका लागि ५० हजार रुपैयाँ सहयोग दिनुहुने काभ्रे नमोबुद्ध नगरपालिकाका विष्णु मोक्तान,३० हजार सहयोग गर्नुहुने तामाङ घेदुङ संघीय सदस्य पाल्छेन तामाङ,पर्दाका लागि २२ हजार ५ सय उपलब्ध गर्नुहुने काठमाडौं बौद्धका मनकुमार तामाङ,२२ हजार बराबरको छ्याङ्ते उपलब्ध गराउनुहुने बौद्धका ओमबहादुर लो, २० हजार सहयोग गर्नुहुने विदुर नुवाकोटका जितेन तामाङ, डिस्पेसर सहयोग गर्नुहुने संघीय सदस्य निर्मल स्याङ्तानलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको छ ।

तामाङ समाज यूएई,तामाङ घेदुङका विभागीय प्रमुख हिरालाल तामाङ, प्रेम लो, धन पाख्रिन, चन्द्रमाया बम्जन, गोमन तामाङ, विनेश मोक्तान, लीला घलान, शंकरमान स्याङ्तानलाई पनि सहयोगको कदर गर्दै कदरपत्र प्रदान गरिएको छ ।

घेदुङका महासचिव जगमान लामा दोङले घेदुङको सभाहल व्यवस्थापनमा भएको खर्च र उपलब्ध भएको सहयोगको विवरण सार्वजनिक गर्नुभएको थियो । अहिलेसम्म २ लाख २८ हजार ९१० रुपैयाँ खर्च भएको र २८ हजार ५७४ बाँकी रकमबाट मञ्चका लागि सोफा किन्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

महासचिव दोङका अनुसार विभिन्न संघसंस्था एवं समाजसेवीहरुबाट संकलित रकममध्येबाट मञ्चमा ७० हजार, पर्दा खरिदमा २२ हजार ५००, च्योक्ची २२ हजार, रङ १९ सय, डिस्पेन्सर १५ हजार १००, कुलर ३१ हजार ४००, कुर्सी २८ हजार ७५०, प्लाइ बोर्ड मर्मत ७ हजार ५६०, फाइल बोर्ड ५ हजार, मञ्चकार्पेट ७ हजार ५००, पोडियम किन्न १६ हजार खर्च भएको छ ।

ताम्बाहरुबाट साङसेर्गेम तथा पूर्वमन्त्री, राजदूत,सांसद रहेका घेदुङका सल्लाहकार तथा सहभागीहरुले ६८ वटा बत्ति प्रज्वलन गरेर उद्घाटन गरिएको स्थापना दिवस कार्यक्रममा तामाङ घेदुङ सल्लाहकारहरु डा.गणेश योन्जन,दिलमान पाख्रिन, दावा लामा, शान्ति पाख्रिन, परशुराम तामाङ, भाषा आयोगका कामु सचिव डा लोकबहादुर लोप्चन,मानवशास्त्री डा.मुक्त सिं लामा, घेदुङ सहअध्यक्ष कुमारसिं घिसिङसहित पदाधिकारी, कार्यसमिति सदस्य, प्रवास समिति प्रमुख, प्रतिनिधि, लामागुरु, तामाङ अगुवा तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

तामाङहरुको राष्ट्रिय साझा संस्था नेपाल तामाङ घेदुङको स्थापना २०१३ सालमा भएको हो । यो संस्था नेपाल आदिवासी जनजाति महासंघको ८ संस्थापक सदस्य संस्थाहरूमध्ये एक हो । घेदुङको सातवटै प्रदेशमा प्रदेश समिति, ६२ जिल्लामा जिल्ला शाखा, ३०० भन्दा बढी गाउँपालिकारनगरपालिकामा स्थानीय समिति र ७०० बढी स्थानमा वडा कार्य समिति रहेका छन् ।

त्यस्तै विदेश तथा प्रवासस्थित डेढ दर्जन बढी मुलुकहरू कुवेत, भारत, इजरायल, अमेरिका, बेलायत, मलेसिया, दक्षिण कोरिया, बहराइन, मकाउ,बेल्जियम, रोमानिया, पोर्चुगल, जापान, ओमन, साउदी, दुबई, कतार, हङकङ, अस्ट्रेलिया, साईप्रस, क्यानडा, इराकमा शाखा तथा घेदुङमा आबद्ध तामाङ संस्थाहरू क्रियाशील छन् ।

तामाङ घेदुङले तमाङ समुदायको राजनीतिक, सामाजिक,सांस्कृतिक, आर्थिक, शैक्षिक आन्दोलनका विषयलाई उठाउँदै आएको अध्यक्ष मोहन गोले तामाङले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस !