काठमाडौं– मिस तामाङ २०२४ को उपाधि रिया तामाङले प्राप्त गर्नुभएको छ । राष्ट्रिय सभागृहमा शनिबार आयोजित ग्राण्ड फिनालेबाट १६ औँ संस्करणको मिस तामाङ विजेता रिया बन्न सफल हुनुभएको हो ।

अन्तिम १४ प्रतिस्पर्धीलाई उछिन्दै मिस तामाङ बन्नुभएका उहाँलाई मिस तामाङ २०२३ की विजेता पासाङयाङ्जी तामाङले ताज पहिरिदिनुभयो ।

काठमाडौंकी रियाले तामाङ भाषा,संस्कृतिको थप अध्ययन गरी यसको प्रवद्र्धनमा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतियोगिताको फस्ट रनर अप स्मृति योन्जन, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा हुनुभयो । फस्ट रनरअफ तामाङले मल्टिमिडिया टाइटल पनि जित्नुभयो ।

प्रतियोगितामा विजेताले नगद १ लाख, फस्ट रनर अफले ५० हजार,सेकेन्ड रनर अफले ३० हजार रुपैयाँको पुरस्कार सहित क्राउन र गिफ्ट ह्याम्पर प्राप्त गर्नुभएको आयोजक संस्था मम्स इन्टरनेशनल नेपालका निर्देशक रञ्जिता लामा तामाङले बताउनुभयो ।

उहाँका अनुसार तामाङ भाषा,धर्म,कला,संस्कृति,भेषभूषा,रीतिरिवाज तथा रहनसहनलाई तामाङ युवामाझ पुर्याउने उद्देश्यले पछिल्ला प्रत्येक वर्ष यो प्रतियोगिता गर्दै आएको छ ।

प्रतियोगिताको निर्णायक मण्डलमा गायक तथा संगीतकार प्रदिप बमजन‚पूर्व मिस तामाङ सुमी मोक्तान,सांसद तारा तामाङ‚सञ्चारकर्मी गंगा घिसिङ, नायक कुमार मोक्तान लगायत निर्णायकको रुपमा हुनुहुन्थ्यो ।
कलाकारहरुको सांस्कृतिक प्रस्तुती समेत रहेको कार्यक्रममा प्रतियोगिता सफल पार्न सहयोग गर्ने प्रायोजक,सहयोगीहरुलाई कदरपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !