काठमाडौं-ओखलढुङ्गा ह्याङ्ला तामाङ समाज सेवाले गोकर्ण जगोलमा शुभकामना आदानप्रदान,सांस्कृतिक कार्यक्रम गरी उत्सवको रुपमा शनिबार २८६० सोनाम ल्होछार मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले ल्होछारले एकता र मेलमिलापको सन्देश दिन सफल भएको बताउनुभयो ।
कोशी प्रदेशका सांसद बाबुराम गौतमले बुद्ध धर्म नेपालको माटोमा जन्मिएकोले यसलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो‚‘राज्यले धर्म मान्ने होइन‚ जनताले मान्ने हो । त्यसो त बुद्ध धर्मको पहिचान र ल्होछारलाई प्रोत्साहन गर्नुपर्छ ।’
कार्यक्रममा गौतम,बागमती प्रदेशका सांसद छिरिङदोर्जे तामाङ‚गोकर्णेश्वर नगरप्रमुख दिपक रिसाल लगायतलाई आयोजकले गरिएको तामाङ पहिरन गोइलोको स्वागत न्यानो थियो ।
कार्यक्रम ओखलढुङ्गाको तामाङ पहिचान झल्किने भेषाभुषा र डम्फु नाचले पृथक बनाइएको थियो ।
साङ्गीतिक माहौलले तातिएको त्यो रौनकता साँझसम्म रहिरह्यो । चर्चित कलाकारहरुको प्रस्तुती थप आकर्षण बन्यो ।
आयोजक संस्थाका अध्यक्ष अशोक सिङ्तानले ओखलढुङ्गाका काठमाडौं बसोबास गरिरहेका नयाँ पुस्ताले भाषा बिर्सदै गएको अवस्थामा ल्होछार कार्यक्रम आपसी मेलमिलापको भावना विकास गर्दै पर्व,भाषा‚ संस्कृतिको बारेमा जानकारी दिनका लागि गरिएको बताउनुभयो ।
“ल्हो”को अर्थ साल, सम्वत् वा वर्ष हो र “छार”को अर्थ नयाँ हो । अर्थात् ल्होछारको अर्थ “नयाँ वर्ष” हो । तामाङहरु ल्हो लाई वर्ग पनि भन्दछन् ।
यो पर्व तामाङहरुका साथै संसारभरका मंगोलहरुले आफ्नो धार्मिक एवं साँस्कृतिक परम्परा अनुसार १५ दिनसम्म मनाउँदछन् ।