काभ्रेपलाञ्चोक–जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको मुख्य आयोजनामा फागुन ४ देखि शुरु भएको बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव सोमबार समापन भएको छ ।

मध्यपहाडी क्षेत्रकै व्यापारिक नगरी बनेपाको करुणामार्ग सडकमा कृषि उपज,कृषि औजार लगायतका स्टलहरुको व्यवस्थापन गरी आयोजित महोत्सवले जिल्लाका किसानहरुमा सकारात्मक उत्साह जागृत गराएको दाबी गरिएको छ ।

महोत्सव समापन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपकुमार गौतमले महोत्सव अत्यन्त सफल भएको दाबी गर्नुभयो । कृषकहरुलाई पेशामा थप आकर्षण गर्न,कृषि र पशुपालनमा प्रविधि तथा नयाँ यान्त्रीकरणका बारेमा जानकारी दिन सफल भएको उहाँले बताउनुभयो ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा.भोला थापाले शिक्षालाई व्यवहारिकतामा परिणत गर्न काठमाडौँ विश्वविद्यालयले स्थानीय सरकार,संघ संस्थासँग समन्वय गर्दै कृषि र पशुपालनका विषय पनि जोडेर अघि बढ्ने बताउनुभयो ।

कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले कृषि क्षेत्रमा किसान तथा उनीहरुको उत्पादन प्रदर्शन,विक्री वितरण एवं बजारीकरण,कृषि यन्त्रबारे सूचना प्रदान गरी यन्त्रीकरणमार्फ व्यवसायीकरण जस्ता विषयमा किसानहरुले सचेत हुने,लाभ लिने अवसर महोत्सवले दिएको बताउनुभयो ।

समापन समारोहमा महोत्सवको अवसरमा आयोजना गरिएको चित्रकला प्रतियोगिताका विजेता विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने कृषि र पशुपालनसँग सम्बन्धित विषयमा भएको अन्तक्र्रिया कार्यक्रममा संयोजन गर्नेहरुलाई प्रशंशापत्र वितरण गरिएको थियो । उत्कृष्ट कृषक तथा स्टल राख्नेहरुलाई पनि पुरस्कृत गरिएको थियो । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभ्रे र सिन्धुपाल्चोकका ६ जना कृषकलाई पुरस्कृत गर्ने कार्य भने महोत्सव उद्घाटनकै दिन गरिएको थियो ।

जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी,बजारीकरण तथा कृषहरुको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुर्याउने मुख्य उद्देश्यले महोत्सव आयोजना गरिएको थियो ।

महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टलहरु राखिएको थियो ।

कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरु सहभागि गराई कारोवारमा बृद्धी ल्याउने, कृषकहरुलाई आवश्यक पर्ने प्रविधि,उत्पादन सामग्री एवं औजार उपकरणहरुको प्रर्दशनी समेत गरिएको थियो ।

कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेको प्राविधिक समन्वय,काभ्रे उद्योग बाणिज्य संघको आर्थिक ब्यवस्थापनमा जिल्ला समन्वय समितिका साथै बनेपा नगरपालिका,कृषि विकास कार्यालय काभ्रे,पशु सेवा कार्यालय,काभ्रेको आयोजनामा महोत्सव आयोजना गरिएको हो । जिल्लाका सबै स्थानीय सरकारहरुसँग समन्वय गरी स्थानीय किसान,कृषि संघ संस्थालाई आफ्ना उत्पादनसहित सहभागि गराईएको थियो ।

महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको चार दिनसम्म नै उपस्थिति राम्रो देखिन्थे । स्टलहरुमा राखिएका कृषिजन्य बस्तुहरुको राम्रो विक्री वितरण भएको नेपाल च्याउ उत्पादक किसान संघका एक प्रतिनिधिले बताए । ‘चार दिन नै अवलोकनकर्ताहरुको भिडभाड नै थियो,सबैभन्दा राम्रो चहलपहल आइतबार थियो ।’–उनले भने ।

७० हजारभन्दा बढि दर्शकले अवलोकन गरेको महोत्सवमा करीब २ करोडको कारोबार भएको आयोजकले जनाएको छ ।
महोत्सवप्रति दर्शकहरुको आकर्षण बढाउन चर्चित कलाकारहरुको प्रस्तुती समावेश गरिएको थियो ।

महोत्सवको राष्टपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !