काठमाडौं–तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८६० डुक ल्हो (मुपुख्री) को अवसरमा ओखलढुङ्गा ह्याङ्ला तामाङ समाज सेवाले शनिबार ‘सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम’ गर्ने भएको छ ।

समाजले गोकर्णेश्वर–५ राष्ट्रिय सहिद पार्क गोकर्णमा कार्यक्रम गर्ने गरी तयारी पूरा गरेको शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । बिहान ९ बजेबाट हुने ल्होछार सांस्कृतिक कार्यक्रममा सम्पूर्ण ल्होछार प्रेमी महानुभावहरूलाई आयोजकको तर्फबाट निमन्त्रणा गरिएको छ ।

‘कला, संस्कृति र परम्पराको जगेर्ना गरौँ, २८६० सोनाम ल्होछार भव्यताको साथ मनाऔँ’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्था समाज सेवाका अध्यक्ष अशोक सिङ्दानले जानकारी दिनुभयो ।

‘तामाङ समुदायको कला संस्कृति, भेषभूषा र परम्परालाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य सहित शुभकामना आदानप्रदान तथा सांस्कतिक कार्यक्रमको मिति तय भएको हो, अध्यक्ष सिङ्दानले भने,‘कार्यक्रममा तामाङ संस्कृति,भेषभूषा तथा विभिन्न पहिचान झल्किने लामा, ताम्बा, बोन्बोहरुको मौलिक प्रस्तुतिहरू हुनेछ ।’

आयोजकका अनुसार कार्यक्रमलाई मनोरन्जनमय बनाउन गायक जीवन बमजन, नायक एवं कथाकार ऋतुराज पाख्रिन, नायिका सुष्मा मोक्तान, सुब्बा लामा, वैरागी मोक्तान, राजीवन योञ्जन, आरबि लामा सिङदान, गायिकाहरूमा अन्जु थोकर, सुस्मिता कटुवाल र जेनी थिङको प्रस्तुति रहने छ ।

 

प्रतिक्रिया दिनुहोस !