बनेपा–काभ्रेको बनेपामा शुक्रबारदेखि बृहत काभ्रेपलान्चोक कृषि महोत्सव शुरु भएको छ । महोत्सवको एक औपचारीक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि,अभ्यास र रैथाने बालीको संरक्षण र संवद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

“बढ्दो शहरीकरणको प्रभावबाट छायाँमा परेका पौष्टिक महत्व भएको हाम्रो मौलिक उत्पादनबारे जनचेतना र जागरण अभियान चलाएर यसको उत्पादनलाई बढावा दिनेतर्फ पनि उत्तिकै ध्यान दिनु जरुरी छ”, उहाँले भन्नुभयो ।

काभ्रेपलान्चोक जिल्ला कृषि, पशुजन्य र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र हो भन्दै उहाँले कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेशा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यस क्षेत्रका उद्यमीहरूमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभविृद्धिमा महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

“विविध भौगोलिक संरचना भएको हाम्रो देशमा तराई क्षेत्रमा गहुँ, धान र ऊखु उत्पादन तथा पहाडी क्षेत्रमा चिया, सुन्तला, कफी, जैतुन, किवी, ड्रागन फ्रुट, एभोकार्डाेजस्ता ‘हाई भ्यालु फ्रुट’को विकासमा जोड दिनु पर्दछ, उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ र ओखर खेतीको विकास गर्दा कृषि क्षेत्रको सन्तुलित विकासलाई मद्धत पुग्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार÷उपकरण÷यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था,कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो ।

“परम्परागत कृषि प्रणालीको अन्त्य गरी नविनतम उच्च प्रविधि, उपकरण, गुणस्तरीय बीउबीजन र व्यावसायिकताको उच्चतम अभ्यासद्धारा औधोगिकिकरणतर्फ उन्मुख हुन अब हामीले किमार्थ ढिला गर्न हुँदैन”, उहाँले भन्नुभयो ।

राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै भएको उहाँको भनाई छ ।
उहाँले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

“गरीबीको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हुंदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

कार्यक्रमका बीच राष्ट्रपति पौडेलले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभ्रे र सिन्धुपाल्चोकका ६ जना कृषकलाई पुरस्कृत गर्नुभएको थियो ।

काभ्रे जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी,बजारीकरण तथा कृषहरुको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुर्याउने मुख्य उद्देश्यले महोत्सव आयोजना गरिएको जिल्ला समन्वय समतिका प्रमुख दिपक गौतमले बताउनुभयो ।

महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टलहरु राखिएका छन् ।

महोत्सवमा कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरु सहभागि गराई कारोवारमा बृद्धी ल्याउने, कृषकहरुलाई आवश्यक पर्ने प्रविधि,उत्पादन सामग्री एवं औजार उपकरणहरुको प्रर्दशनी समेत गरिएको छ । कृषकहरु विचमा विकसित नयाँ प्रविधि एवं सामाग्री औजार उपकरणहरु प्रति आर्कषण बढाई उत्पादन लागत घटाउने, दर्शक÷कृषकहरुलाई प्रोत्साहित गर्न नयाँ नयाँ उन्नत प्रविधिहरु बारे ज्ञान आदानप्रदान समेत महोत्सवले गर्ने गौतमको भनाई छ ।

उहाँका अनुसार महोत्सवमा दर्शक आकर्षण तथा मनोरञ्जनका लागि चर्चित कलाकारहरुद्धारा सांस्कृतिक प्रस्तुती समेत रहनेछ ।

कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेको प्राविधिक समन्वय,काभ्रे उद्योग बाणिज्य संघको आर्थिक ब्यवस्थापनमा जिल्ला स्थित बनेपा नगरपालिका तथा अन्य स्थानीय तहको समेत प्रत्यक्ष एवं सक्रिय सहभागितामा आयोजित महोत्सव यहि फागुन ७ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !