विज्ञहरुको भेला : ९ वटा समिति बनाउने अन्तर्राष्ट्रिय तामाङ परिषद्को तयारी

काठमाडौं–नेपाल तामाङ घेदुङले बुदिष्ट टिचिङ एण्ड मेडिटेसन सेन्टरको सम्पादन र अन्तर्राष्ट्रिय तामाङ परिषद्को समन्वयमा मञ्जुश्री सम्वत् २८६० को भित्तेपात्रो (डेङचि) प्रकाशनमा ल्याएको छ ।

तामाङ समुदायको चाडपर्वलगायत विषय समेत समेटिएको उक्त पात्रो बुधबार बौद्धमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ ।

अन्तर्राष्ट्रिय तामाङ परिषद्का संस्थापक परशुराम तामाङ,भाषा आयोग पूर्व सदस्य अमृत योञ्जन तामाङ,खेन्पो सोनाम ग्युर्मे,डा.कुन्साङ योञ्जन,घेदुङका पूर्वअध्यक्ष धनप्रसाद तामाङ लगायतले पात्रो सार्वजनिक गर्नुभएको हो ।

परिषद् स्थायी समिति सदस्य तथा तामाङ घेदुङका महासचिव जगतमान लामा दोङको सहजिकरणमा भएको कार्यक्रममा मन्जुश्री पात्रोबारे उठेका जिज्ञासाको खेन्पो सोनाम ग्युर्मेले जवाफ दिनुभएको थियो ।

विक्रम सम्वत्को क्यालेण्डर सौर्य सिद्धान्त अनुसार बन्दछ भने यो मञ्जुश्री सम्वत्को क्यालेण्डर चन्द्र सिद्धान्त अनुसार बनेको हो ।

चन्द्रमाको गति र प्रभावको आधारमा बनेको यो भित्तेपात्रोमा तिथिलाई जोड दिएर विभिन्न दिवस तथा तामाङ चाडपर्वको विषय समेटेको जनाईएको छ ।

मन्जुश्री पात्रो विमोचन तथा तामाङ परिषद्को विज्ञ समितिको भेला छलफल सहितको पत्रकार सम्मेलन कार्यक्रममा परिषद्का संस्थापक परशुराम तामाङले मञ्जुश्री सम्वत् २८६० को भित्तेपात्रो प्रकाशनमा ल्याउनु खुशीको कुरा रहेको बताउनुभयो ।

उहाँले तामाङ अग्रजहरुको आन्दोलनले स्थानीय तहका विद्यालयहरुमा मातृभाषामा शिक्षाका लागि पाठक्रम निर्माण,प्रदेश सरकारको सरकारी कामकाजमा तामाङ भाषाको प्रयोगमा आउनु उपलब्धि रहेको धारणा व्यक्त गर्नुभयो ।

तामाङहरुको अधिकार प्राप्ति र काम गर्नुपर्ने बाँकी रहेको भन्दै उहाँले संघर्ष जारी राख्नुपर्नेमा जोड दिनुभयो ।

परिषद्का महासचिव टासी लामाको अध्यक्षतामा भएको कार्यक्रममा मुपुख्री सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान र तामाङ परिषद्को विज्ञ सम्मेलन र आगामी कामहरुबारेमा छलफल भएको थियो ।

परिषद्का महासचिव लामाका अनुसार परिषद्ले ९ वटा विज्ञहरुको समिति बनाउने तयारी गरेको छ । विज्ञ भेलाको लागि नाम सङ्कलनको काम सम्पन्न भएको महासचिव लामाले जानकारी दिनुभयो ।

अहिले परिषद् आन्तरिक तयारीमा लागेको भन्दै महासचिव लामाले ९ वटा मध्ये पाँच वटा विज्ञ समितिको भेला नेपाल र भारतमा गरिने बताउनुभयो ।

अन्य विज्ञ समितिको भेला विभिन्न देशमा हुने छ । तामाङ सो विकास विज्ञ भेला,तामाङ कोष निर्माण भेला अमेरिकामा,क्षमता अभिवृद्धि तथा तालिम भेला जापानमा र प्रवास समितिको भेला यूएईमा गरिने महासचिव लामाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस !