
काठमाडौं–थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘मासिन्या’ बिहीबारदेखि नियमित मञ्चनमा आएको छ ।
बुधबार साहित्य,कला,संगीत,राजनीति र सञ्चार क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा विशेष मञ्चन गरिएको नाटक यहि माघ २८ गतेसम्मका लागि नियमित मञ्चनमा आएको निर्देशक सोनाम मोक्तानले बताउनुभयो ।
नाटकमा विशेषत : तामाङ समुदायले भोग्दै आएको उत्पीडननको कथालाई प्रस्तुत गरिएको छ । त्यसैमा समुदायको जीवनपद्धति,संस्कृति,लय र परिवेशहरु नाटकमा देख्न सकिन्छ ।
तामाङ समुदायमाथि गरेको विभेद र अत्याचारको जीवन्त प्रस्तुत नाटकमा रहेको नाटकको विशेष मञ्चनमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले बताउनुभयो ।
‘यो नाटक मात्र होइन पीडा हो । यसलाई युवा पीढीले बुझ्नुपर्यो’, उहाँले भन्नुभयो, ‘यस्तो पीडाको विरुद्धमा संघर्ष गर्नुभन्दा अरु उपाय नै छैन । यो देशभरी देखाउनुपर्छ र आफ्नो अधिकार पहिचानको लागि संघर्ष गर्नुपर्छ ।’
उहाँले तामाङ समुदायमाथि मासिन्या भनेर राज्यले गरेको विभेद प्रायोजित व्यवहार रहेको समेत धारणा राख्नुभयो । उहाँका अनुसार आफ्नो समुदाय र नागरिकलाई नाटक जस्तो माध्यम नै जनचेतना बढाउने उपाय हो ।
नाटकले सडकमा उभिएर आन्दोलन र भाषण गरेभन्दा पनि शक्तिशाली सन्देश दिएको तर्क गर्दै आदिवासी अभियन्ता आङ्काजी शेर्पाले सम्पुर्ण तामाङ समुदाय र विश्वभर आदिवासी माझ यसलाई र्पुयाउन आव्हान गर्नुभयो ।
उहाँले भन्नुभयो,‘यो हाम्रो उत्पीडनको कथा हो । यही कुरा राज्यले बुझेको भए आज सडकमा आन्दोलन गर्नुपर्ने अवस्था आउने थिएन । नाटकका यी दृश्यहरु प्रचण्ड र आङकाजीले बोलेको भाषणभन्दा शक्तिशाली छ । यसलाई प्रत्येक तामाङ बस्तीमा लानुपर्छ ।’
ताम्सालिङ संघर्ष समितिका सदस्य सचीव तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले नाटकलाई अभियानकै रूपमा सम्भव भएसम्म सातै वटा प्रदेशमा पुर्याउने बताउनुभयो ।
अहिलेको खुल्ला र गणतान्त्रिक राज्य प्रणालीको समाजमा सबैले आफ्नो कुरा राख्न सिर्जनात्मक बाटो रोज्नुपर्ने अध्यक्ष गोलेको भनाई छ ।‘हामीले एकले अर्काको कुरा सुनेर अब एक हुनुपर्छ । राणाकाल,पन्चायत जस्तो कालमा हामीले आफ्नो कुरा राख्न पाएनौं । अब बन्दुकले होइन सिर्जना मार्फत हस्तक्षेप गर्नुपर्ने हुन्छ ’उहाँले भन्नुभयो ।
राजु स्याङ्तान,लक्ष्मी रुम्बा र राबतको लेखन रहेको नाटकको परिकल्पना तथा निर्देशन बुद्धि तामाङ र सोनाम लामाले गर्नुभएको हो ।
नाटकमा रुपेश तामाङ,रोहनी लामा, सुनिल तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान,रविन दोङ,विकास लामा,इंगीहोपो कोइँच सुनुवार, शीतल थोकर, विजय नेपाल, निर्मल साउद लगायतका कलाकारहरुको अभिनय रहेको छ ।