काठमाडौं–थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि मञ्चन हुने नाटक ‘मासिन्या’ तामाङ समुदायलाई राज्यसत्ताले गरिरहेको विभेद विरुद्धको सिर्जनात्मक हस्तक्षेप रहेको नाटकका लेखक राजु स्याङ्तानले बताउनुभयो ।

मण्डलामा गरिएको पत्रकार भेटघाट कार्यक्रममा लेखक स्याङ्तानले यस्तो बताउनुभएको हो । स्याङतान सहित अर्का लेखक लक्ष्मी रुम्बा,नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ,ताम्सालिङ सयुक्त संघर्ष समितिका अध्यक्ष गणेश योन्जन लगायतकाको सहभागितामा भएको कार्यक्रममा नाटक समुहले ‘मासिन्या’को रचनादेखि मञ्चन यात्राबारे प्रकाश पारेका थिए ।

स्याङ्तानका अनुसार झन्डै डेड दुई वर्ष अघि नाटक तयार गरिएको हो । तामाङ समुदायमा नाटकको परम्परा र अभ्यास न्यून देखिए पनि मासिन्याले त्यसमा टेवा पुग्ने उहाँको विश्वास छ । ‘मासिन्याले जङ्गबहादुरको समयदेखि अहिले सम्म सुन्दर तामाङ बस्ती कसरी रित्तिदै गएको छ भन्ने कथा भन्छु,उहाँले भन्नुभयो–‘हामीले कविता त लेख्यौं,यतिले पुगेन भन्ठानेर नाटक ल्यायौं । हाम्रो मौलिकता बोकेको माटो,हाम्रै पीडाको कथा भन्न हामीले नाटकको माध्यम रोजेका छौं ।’

समुदायभित्र गढेर बसेको पीडालाई नाटकका रूपमा समुहको पहिलो प्रयास भएको बताउँदै अर्का लेखक रुम्बाले तामाङको मात्र नभएर नाटकले समग्र राज्य प्रणालीको विभेदमा पिल्सिएका सिमान्त्कृत समुदायको कथा व्यक्त गर्ने बताउनुभयो ।

अहिलेको खुल्ला र गणतान्त्रिक राज्य प्रणालीको समाजमा सबैले आफ्नो कुरा राख्न सिर्जनात्मक बाटो रोज्नुपर्ने अध्यक्ष गोलेको भनाई छ । ‘हामीले एकले अर्काको कुरा सुनेर अब एक हुनुपर्छ । राणाकाल,पन्चायत जस्तो कालमा हामीले आफ्नो कुरा राख्न पाएनौं । अब बन्दुकले होइन सिर्जना मार्फत हस्तक्षेप गर्नुपर्ने हुन्छु ।’ उहाँको भन्नुभयो ।

नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गर्नुभएको हो । नाटकमा रमिला मोक्तान,विष्णु मोक्तान,रविन दोङ,सुनिल तामाङ, रोहनी लामा,शीतल थोकर,रुपेश तामाङ,इंगिहोपो कोइँच सुनुवार लगायत कलाकारहरुको अभिनय रहेको छ ।

नाटकको पहिलो पटक बुधबार पत्रकार,लेखक,अभियन्ता,बुद्धिजीविहरुबीच प्रिमियर शो गरिएको थियो । अब माघ २८ सम्म नियमित मञ्चन हुने लेखक स्याङतानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !