
काठमाडौं–तामाङ सोसाईटी अफ युकेले नेपाल तामाङ कलाकार संघलाई १ लाख रुपैयाँ नगद सहयोग गरेको छ ।
तामाङ कलाकार संघको आयोजनामा हालै मंसिर २९ र ३० गते सम्पन्न तेस्रो तामाङ मौलिक सेलो संगीत महोत्सवका लागि प्रतिवद्धता जनाए अनुसारको सहयोग रकम हस्तान्तरण गरिएको हो ।
तामाङ चलचित्र संघ नेपालका नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन तथा तामाङ पत्रकार तथा प्रवासी संघ संस्थाका प्रतिनिधिहरुलाई सम्मानका लागि बुधबार आयोजित कार्यक्रमका बीच उक्त रकम तामाङ सोसाईटी अफ युकेका महासचिव मणि लामाले संघका अध्यक्ष विशाल काल्तान नेतृत्वलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा तामाङ समाज युगेका महासचिव लामाले तामाङ भाषा,संस्कृतिको प्रवद्र्धनमा कलाकारहरुले कलाको माध्यममार्फत गर्ने अभियानहरु प्रभावकारी हुने बताउनुभयो ।
प्रवासमा तामाङ कलाकार तथा कलाकार संघसँग सहकार्य समन्वय गरी ल्होछार जस्ता कार्यक्रमहरु गर्दै आएको जनाउनुहुदै महासचिव लामाले आफूहरु सेलो महोत्सवमा पनि साथमा उभिएको बताउनुभयो ।
कार्यक्रममा तेस्रो तामाङ मौलिक सेलो संगीत महोत्सवलाई समफल बनाउन सहयोग गर्ने तामाङ समाज युकेका साथै तामाङ घेदुङ इजरायल,तामाङ पत्रकारहरुलाई सम्मान गरिएको थियो भने तामाङ चलचित्र संघका नव निर्वाचित कुमार मोक्तान नेतृत्वको कार्यसमितिलाई बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानले कलाकार संघको तामाङ मौलिक सेलो संगीत महोत्सवका साथै वार्षिक पात्रो अनुसार तय भएका अन्य विविध खालका कार्यक्रमहरु सफल पार्न प्रवासी तामाङ संघसंस्था तथा पत्रकारहरुले महत्वपूर्ण भुमिका खेल्दै आएको स्पष्ट पार्नुहुदै आगामी दिनहरुमा पनि सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
तामाङ कलाकार संघले आफ्नो स्थापना कालदेखि तामाङ भाषा,संस्कृतिको पक्षमा गीत संगीत तथा कला क्षेत्रको विकास गर्दै आएको उल्लेख गर्नुहुदै अध्यक्ष काल्तानले तामाङ कलाकार संघ कला क्षेत्रको विकासमा मात्र नभई तामाङ समाजलाई पर्ने प्राकृतिक विपत्,समस्याहरुमा पनि आफूलाई सारथीको रुपमा अघि सर्दै आएको बताउनुभयो ।
कार्यक्रममा बधाई तथा शुभकामना ग्रहण गर्दै तामाङ चलचित्र संघका नव निर्वाचित अध्यक्ष कुमार मोक्तानले तामाङ कलाकार संघद्धारा गरिएको बधाईले आफूहरुलाई चलचित्र कर्ममा थप उत्साहित बनाउने बताउनुभयो । यस कार्यक्रमले तामाङ कलाकारहरुको एकतामा बल पुग्ने उहाँको भनाई छ ।
तामाङ पत्रकार संघका संघीय महासचिव तिर्थमान वल तामाङले तामाङ चलचित्र संघ परिवारलाई बधाई दिने कार्यक्रम आयोजना गर्नु तामाङ कलाकारहरुबीच राम्रो कार्यक्रमको शुरुवात भएको बताउनुभयो ।
हाम्रालाई हाम्राले सम्मान गर्नु निकै राम्रो हो भन्नुहुदै उहाँले एक अर्का बीचको सहकार्यभाव जगाउन यो कार्यक्रम महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।
संघका महासचिव खेम मोक्तानले तामाङ कलार संघको स्थापनासँगै संघबाट भईरहेका अभियानहरु जोडिएका नेपाल तथा प्रवासका तामाङ संघसंस्था,पत्रकार सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।