
काठमाडौं–नेपाल तामाङ कलाकार संघले तामाङ चलचित्र संघ नेपालको सातौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम गरेको छ ।
राजधानीमा बुधबार संघका उपाध्यक्ष सुवास मोक्तानको स्वागत मन्तव्यका साथै तामाङ मौलिक परम्परा अनुसारको सगुन ग्रहण गर्दै शुरुवात गरिएको कार्यक्रमको प्रारम्भमा तामाङ चलचित्र संघका नव निर्वाचित अध्यक्ष कुमार मोक्तान नेतृत्वको कार्यसमितिलाई बधाई ज्ञापन गरिएको हो ।
गत पुष ७ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित अध्यक्ष मोक्तानका साथै वरिष्ठ उपाध्यक्ष दिपक तामाङ,उपाध्यक्ष अमर लामा, विनायक तामाङ तथा महिला उपाध्यक्ष सुनिता लुङबा,महासचिव ऋतुराज पाख्रिन,सचिव उतर लामा (संगुल),कोषाध्यक्ष जोगलाल लामा,सह कोषाध्यक्ष सुनिता दोङ, सदस्यहरु मायादेवी मोक्तान,सुस्मा मोक्तान,बुद्ध तामाङ,दिपक तामाङ स्याङतान,कुइसाङ रुम्बा,संजय हुत्त,रुपा एस घले,बीरमान स्याङतन,प्रवल थिङ,कुमारी माया ग्लान,ज्ञानदास तामाङ,संगीता तितुङ,सञ्चु थोकर,रेसम कुमार स्याउली,सृजना तामाङ सहितको सिंगो कार्यसमितिलाई नै खादा तथा बधाईपत्रद्धारा बधाई तथा शुभकामना प्रदान गरिएको हो ।
कार्यक्रममा पत्रकार तथा प्रवासी संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मान समेत गरिएको छ । तामाङ सोसाईटी अफ युके,तामाङ घेदुङ इजरायल,तामाङ पत्रकार संघ तथा विभिन्न सञ्चार माध्यमहरुमा आवद्ध पत्रकारहरुलाई सम्मान गरिएको हो ।
हालै सम्पन्न तेस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव विशेष सहयोग गर्ने प्रवासी संघ संस्थाका प्रतिनिधि तथा पत्रकारहरुलाई सम्मान गरिएको आयोजकले स्पष्ट पारेको छ ।
कार्यक्रममा तामाङ सोसाईटी अफ युकेका महासचिव मणि लामाले तामाङ कलाकार संघको आयोजनामा हालै मंसिर २९ र ३० गते सम्पन्न तेस्रो तामाङ मौलिक सेलो संगीत महोत्सवका लागि प्रतिवद्धता जनाए अनुसारको १ लाख रुपैयाँ संघका अध्यक्ष विशाल काल्तानलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा बधाई तथा शुभकामना ग्रहण गर्दै तामाङ चलचित्र संघका नव निर्वाचित अध्यक्ष कुमार मोक्तानले तामाङ कलाकार संघद्धारा गरिएको बधाईले आफूहरुलाई चलचित्र कर्ममा थप उत्साहित बनाउने बताउनुभयो । यस कार्यक्रमले तामाङ कलाकारहरुको एकतामा बल पुग्ने उहाँको भनाई छ ।
तामाङ पत्रकार संघका संघीय महासचिव तिर्थमान वल तामाङले तामाङ चलचित्र संघ परिवारलाई बधाई दिने कार्यक्रम आयोजना गर्नु तामाङ कलाकारहरुबीच राम्रो कार्यक्रमको शुरुवात भएको बताउनुभयो । हाम्रालाई हाम्राले सम्मान गर्नु निकै राम्रो हो भन्नुहुदै उहाँले एक अर्का बीचको सहकार्यभाव जगाउन यो कार्यक्रम महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।
तामाङ सोसाईटी अफ युकेका महासचिव मणि लामाले तामाङ भाषा,संस्कृतिको प्रवद्र्धनमा कलाकारहरुले कलाको माध्यममार्फत गर्ने अभियानहरु प्रभावकारी हुने बताउनुभयो ।
तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानले तामाङ समाजको भाषा,संस्कृतिको प्रवद्र्धनमा एकताको सन्देश दिन यस खालको कार्यक्रम आवश्यक रहेको बोध गर्दै कार्यक्रम आयोजना गरिएको बताउनुभयो । केहि व्यक्तिमा निहित स्वार्थले विभिाजित भएको विगतबाट सिकेर समान उद्धेश्य बोक्ने तामाङ संघसंस्था,सामाजिक अभियन्ताहरु एक ठाउँमा उभिन आवश्यक रहेको उहाँको तर्क थियो ।
तामाङ कलाकार संघले आफ्नो स्थापना कालदेखि तामाङ भाषा,संस्कृतिको पक्षमा गीत संगीत तथा कला क्षेत्रको विकास गर्दै आएको उल्लेख गर्नुहुदै अध्यक्ष काल्तानले तामाङ कलाकार संघ कला क्षेत्रको विकासमा मात्र नभई तामाङ समाजलाई पर्ने प्राकृतिक विपत्,समस्याहरुमा पनि आफूलाई सारथीको रुपमा अघि सर्दै आएको बताउनुभयो ।
अध्यक्ष काल्तानले कलाकार संघको तामाङ मौलिक सेलो संगीत महोत्सवका साथै वार्षिक पात्रो अनुसार तय भएका अन्य विविध खालका कार्यक्रमहरु सफल पार्न प्रवासी तामाङ संघसंस्था तथा पत्रकारहरुले महत्वपूर्ण भुमिका खेल्दै आएको स्पष्ट पार्नुहुदै आगामी दिनहरुमा पनि सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
संघका महासचिव खेम मोक्तानले तामाङ कलार संघको स्थापनासँगै संघबाट भईरहेका अभियानहरु जोडिएका नेपाल तथा प्रवासका तामाङ संघसंस्था,पत्रकार सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।