![](https://namobuddhakhabar.com/wp-content/uploads/2024/01/1.jpg)
काभ्रे–बेथानचोक गाउँपालिकाको वडा नं. १ को च्याम्राङबेंशीमा गाउँपालिकाको आयोजनामा सम्पन्न गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रतर्फ पार्वती माध्यमिक विद्यालय तथा छात्रातर्फ भूमिमाता माध्यमिक विद्यालय प्रथम भएका छन् ।
चक्रेश्वर माध्यमिक विद्यालयले संयोजन गरेको प्रतियोगितामा छात्रतर्फ चक्रेश्वरले र छात्रातर्फ सरस्वती माध्यमिक विद्यालय पार्थलीले दोस्रो स्थानमा चित्त बुझाए ।
तृतीय स्थानमा छात्रतर्फ भिमसिनेश्वर माध्यमिक विद्यालय तृतीय भयो भने चक्रेश्वर माध्यमिक विद्यालयले छात्रातर्फको तेस्रो स्थान आफ्नो पोल्टोमा परेको छ । गाउँपालिका भरीका १० वटै माध्यमिक विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
विजयी विद्यालयका टिमहरुलाई आइतबार ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार वितरण गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले स्थानीय स्तरमा हुने प्रतियोगिताले प्रतिभा उत्पादन हुने भएकाले प्रतियोगिताको विशेष महत्व रहेको बताउनुभयो ।
उहाँले सबै गतिविधि गाउँपालिकाको केन्द्रमा मात्र गर्नुहुन्न भन्ने मान्यताका साथ रनिङ शिल्ड प्रतियोगितालाई वडा नंं १ मा गरिएको र अन्य वडाहरुमा पनि यसरी नै विविध गतिविधि गर्दै जाने बताउनुभयो ।
गाउँपालिकाले खेलकुद, शिक्षा विज्ञान र प्रविधिको कार्यक्रमलाई प्राथमिकतामा राखेकोले विकास भनेको बाटो र अन्य पूर्वाधार मात्र नभई व्यक्तिको चौतर्फी विकास पनि भएको कुरा जीकिर गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले नयाँ प्रतिभाको खोजी हुनु, अवसर पाउनु र पुरानाहरू निखारिदै जानुले समग्र देशको खेलकुदमा योगदान बढ्ने भएकाले प्रतियोगिताको उद्देश्य प्रतियोगिताले नै पूरा गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मधुसुधन तिमल्सिनाले यस वर्षको प्रतियोगिता सम्पन्न गर्नका लागि वडा नं.१ लाई मौका दिएकोमा गाउँपालिकाप्रति आभार व्यक्त गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । बिजेता टिमहरुलाई स्थानीय संघ संस्थाले नगद पुरस्कारसमेत प्रदान गरेका छन् ।
पालिकाका प्रेस संयोजक शुभराज अधिकारीका अनुसार समापन कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना,वडा नं.२ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना,वडा नं. ३ का अध्यक्ष कुबेर ढकाल,वडा नं. ४ का अध्यक्ष कृष्ण लामा,वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबा, वडा नं. ६ का अध्यक्ष विष्णु तामाङ, विभिन्न वडाका सदस्यहरु,सहभागी विद्यालयका शिक्षक प्रतिनिधि,प्रशिक्षक लगायतको उपस्थिति रहेको थियो ।